१ असार २०८२, आईतवार

बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थल बन्द
  • न्युज मानसराेवर

बाँके\बाक्लो हुस्सु र कुहिरोका कारण आइतवार नेपालगञ्ज विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । पश्चिम नेपालका पहाडी जिल्लामा हुने र काठमाण्डौ तथा पोखराका लागि हुने उडान प्रभावित भएका हुन् ।

उडान प्रभावित हुँदा विभिन्न ठाउँमा जान विमानस्थल पुगेका सयौं यात्रु विमानस्थलबाट फर्किन थालेका छन् । नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार आइतवार विहानैदेखि मौसम अत्यधिक खराब हुँदा भिजिविलिटी कम भएकाले विमानस्थल नखोलिएको हो ।

मौसममा सुधार आएपछि मात्रै उडान सुचारु गर्न सकिने कार्यालयले जनाएको छ । यस क्षेत्रका अधिकांश पहाडी र हिमाली जिल्लाहरुमा हिउँ परिरहेकोले ती जिल्लाको उडान रद्द गरिएको र अन्य जिल्लामा नेपालगञ्ज विमानस्थल बन्द हुँदा उडान नभएको विमानस्थल टावरले जनाएको छ ।

नेपालगञ्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङ तथा काठमाडौं र पोखराका लागि २५ भन्दा बढी हवाई उडान हुने गरेका छन् ।

  • १६ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech