४ जेष्ठ २०८२, शनिबार

बाँकेमा बन्धक बनाएर लुटपाट
  • न्युज मानसराेवर

बाँके\ बाँकेको खजुरामा एउटा परिवारलाई नै बन्धक बनाई लुटपाट भएको छ । खजुरा गाउँपालिका वडा नं ४ डी गाउँका सुन व्यवसायी हरिबहादुर सुनार र उनको परिवारलाई बन्धक बनाएर लुटपाट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन शर्माका अनुसार डाँका समूहले तीन तोला सुन, ३० हजार रुपैयाँ नगद र एउटा मोटरसाइकल लुटेर भागेको हो । बाँकेका प्रवक्ता डिएसपी न्यौपानेले भने ‘डाँका समूहको खोजी भइरहेको छ । चाँडै नियन्त्रणमा लिन्छौं ।’

हातहतियारसहित पुगेको डाँका समूह सोमबार बिहान साढे १ बजे घरको पछाडिको जाली ढोका र भित्री ढोका फुटाएर घरमा प्रवेश गरेको थियो ।

पीडित सुनारका अनुसार डाँका समूहले पहिले उनका छोरा, छोराका साथीको हात-खुट्टा बाँधेर कन्चटमा पेस्तोल ताकेको थियो । छोरालाई गोली हान्ने धम्की दिएपछि पीडित सुनारले आफू सुतेको ढोका खोलेका थिए ।

‘त्यस लगत्तै मलाई पनि हात खुट्टा बाँधेर लुटपाट गरे,’ उनले भने, ‘दराज, पलङको बक्स फुटाएर ३ तोला सुन, ३ वटा मोबाइल, मोटरसाइकल र पैसा लगेर हामीलाई थुनेर भागे ।’ बन्धक बनाइएका सुनारका परिवारले घटनाको केही समयपछि गुहार मागेपछि छिमेकीहरू त्यहाँ पुगेर बन्धकमुक्त गरेका थिए ।

  • १७ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech