काठमाडौँ\ अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयलाई लिएर सत्ता गठबन्धन अप्ठ्यारोमा परेको बेला बिहीवार बिहान प्रधानमन्त्रीलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको हो ।
कांग्रेस नेता डा. शेखर कोइरालालाई भेटेलगत्तै देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।
माओवादी स्रोतका अनुसार प्रचण्डले एमसीसी अनुमोदनका लागि केही समय थप गर्न अमेरिकासँग आग्रह गरेका छन् । ‘कम्तीमा स्थानीय तहको चुनावसम्म एमसीसी रोकौं भन्ने प्रस्ताव माओवादीको छ,’ स्रोतले भन्यो ।
प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहितको बैठकमा पनि प्रचण्डले एमसीसीलाई चुनावपछि धकेल्न प्रस्ताव गरेका थिए ।
अमेरिकाले एमसीसी अनुमोदनका लागि २० दिनको समय दिएको छ । प्रधानमन्त्री देउवा जसरी भए पनि एमसीसी अगाडि बढाउने पक्षमा देखिएका छन् ।
बालुवाटारको बैठकमा नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी थिए । नेकपा एसले एमसीसीविरुद्ध फागुन १ गते आन्दोलनको घोषणा गरिसकेको छ ।
सरकारमा रहेका दलले एमसीसीविरुद्ध प्रदर्शन गर्न लागेकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाएका छन् ।