बाँके\ विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट एमसीसी सम्झौताबारे प्रतिनिधि सभामा बिहीवार छलफल हुँदैछ ।फागुन ८ गते सरकारले संसदमा टेबुल गरेको सम्झौता माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि आज छलफल हुन लागेको हो ।
दिउसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ । अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सो प्रस्ताव पेश गरेपछि संसदमा सैद्धान्तिक छलफल हुनेछ ।
मन्त्रीले विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि संसद बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल हुनेछ । सैद्धान्तिक छलफलमा सभामुखसँय समय लिएर सांसदहरूले एमसीसी स्वीकार गर्ने या नगर्ने भन्ने विषयमा सांसदले राय व्यक्त गर्न सक्छन् ।
छलफल सकिएपछि सभामुख अग्नि सापकोटाले एमसीसी स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । ध्वनी मत ९सांसदले हात उठाएर०ले सो प्रस्ताव निर्णयार्थ पेश हुनेछ । प्रस्तावको पक्षमा हुन्छ भन्ने पक्षको बहुमत देखिएमा एममसीसी संसदले स्वीकारेको मानिन्छ । संसदले स्वीकार गर्नु भनेको पारित भएको भने होइन । हुन्न भनेमा एमसीसी फेल हुन्छ र अरु प्रक्रियामा जानु पर्दैन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विगतमा जस्तै संसदमा नाराबाजी गरिरहेकोले उ मतदान प्रक्रियामा सहभागि भएन भने प्रस्ताव स्वीकृत हुने सम्भावना छ । एमसीसी स्वीकृत भयो भने यसमाथि दफावार छलफल हुनेछ ।
संसद सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले संसद बैठक ढिलोसम्म संचालन गरेर भएप्नि सैद्धान्तिक छलफल आजै टुंगाउने तयारी रहेको जानकारी दिए । ‘संसद सचिवालयको तयारी सैद्धान्तिक छलफल बिहीवार एकै दिनमा टुंगाउने भन्ने छ, कार्यव्यबस्थाले निर्णय लिन्छ,’ पाण्डेले भने ।
सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यबस्थाको बैठक बिहान साढे ११ बजे संसद भवन बानेश्वरमा
बस्नेछ । एमसीसी आज स्वीकृत भयो भने यसमाथि प्रतिनिधि सभाको पूर्ण बैठकमा दफावार छलफल हुनेछ । दफावार छलफलका लागि दलहरूले आफ्नो सीट संख्याको आधारमा समय पाउने छन् । एमसीसीले कम्प्याक्ट सम्झौता अनुमोदनको लागि यही १६ गतेसम्मको समय दिएको छ । समयसीमा छोटो भएकोले शुक्रवारदेखि नै दफावार छलफल गर्ने तयारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी भएपनि एमसीसी पास गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसले आजको बैठकमा अनिवार्य उपस्थितीको लागि सांसदहरूलाई ह्वीप जारी गरेको छ । लोसपाले पनि एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले औपचारिक निर्णय गरेको छैन ।
नेकपा माओवादी केन्द्र, नेकपा एस लगायत संसदका साना दल एमसीसीको विपक्षमा छन् । सरकारमा सहभागी जसपाले पनि औपचारिक निर्णय गरेको छैन । एमसीसीका कारण सत्ता गठबन्धन भत्किने सम्मको आँकलन गरिँदा एमालेको भूमिकालाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
मंगलवार राति प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी एमसीसी अनुमोदनमा सघाउन आग्रह गरेका थिए ।
एमालेले भने संसदमा आफूहरू सहभागि हुने वातावरण बनाउन माग गर्दै आएको छ । माधव नेपाल लगायत १४ सांसदमाथि गरिएको कारवाही अनुसार उनीहरूलाई पदमुक्त गर्न माग गर्दै एमालेले भदौ २३ देखि संसदमा अवरोध गर्दै आइरहेको छ । लोकान्तर