६ जेष्ठ २०८२, सोमबार

कोहलपुरमा राष्ट्रियदेखि अन्तरराष्ट्रिय बस सञ्चालन हुने
  • न्युज मानसराेवर

कोहलपुर \ बाँकेको कोहलपुरमा नमूना बसपार्क निर्माण धमाधम भइरहेको छ ।

अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले कोहलपुर चौराह नजिक नमूना बसपार्क निर्माण थालिएको हो । बसपार्क निर्माणका लागि कुल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट विनियोजन गरिएको छ ।

पाँच बिघा १६ कठ्ठामा निर्माण भइरहेको उक्त बसपार्कको खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको छ ।विसं २०७७ फागुन २४ गते रू २७ करोड ८४ लाखमा बसपार्क निर्माणका लागि सम्झौता भई काम संचालन भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा चिनिन्छ । कोहलपुर बसपार्कबाट राष्ट्रियदेखि अन्तरराष्ट्रिय बससमेत सञ्चालन हुने नगरप्रमुख लुट बहादुर रावतको भनाइ रहेको छ ।

बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्ससहितको हुने  मेयर  रावतले बताएका छन।  बसपार्कमा निर्माण हुने सटर, सपिङ कम्प्लेक्स, बसपार्क पार्किङलगायतका संरचनाबाट कोहलपुर नगरपालिकाको आन्तरिक आयस्रोत बढ्ने अनुमान गरिएको छ । बसपार्क सञ्चालनमा आएपछि यात्रुलाई सहज हुने र कोहलपुरको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पाँच तलाको सपिङ कम्प्लेक्ससहितको निर्माणाधीन बसपार्क नेपालकै नमूना बसपार्क हुने कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इञ्जीनियर बालकृष्ण महतराले  जानकारी गराएका छन।   यसलाई नगरपालिकाले गौरवको योजनाका रूपमा अगाडि सारेको छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech