बाँके\ नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेर सेना दिवस मनाएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ । सेनाले विभिन्न सांस्कृतिक कार्यक्रम र साहसिक खेलहरू प्रस्तुत गरेको थियो ।
शिवरात्री एवं सेना दिवसको बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायतका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो ।
दिवसका अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण तथा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । नेपाली सेनाको सम्मान गारतले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो ।
कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा र ‘महाशिवरात्रि तथा सेना दिवस -२०७८’ तथा “आर्मी डे” लेखिएको ब्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिए पश्चात आर्मी चिह्न र स्वस्तिक चिन्ह आकृति निर्माण गरी राइफल र तोपबाट महाशिवरात्रिको बढाइँ गरिएको थियो ।