नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री दीपक गिरीले पार्टीले सुरु गरेको ‘घर घरमा जाऔं, कांगे्रसलाई जिताऔं’ अभियानलाई नारामा मात्रै सिमित नगर्न निर्देशन दिएका छन् । कांग्रेस बाँकेको कार्यालयमा बुधबार भातृ तथा शुभेच्छुक संगठनका प्रमुख एवम् प्रतिनिधीसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
बाँके\‘पार्टीले सञ्चालन गरेको अभियान नारामा मात्र सिमित नहोस्, प्रत्येक वडाको टोलमा पुगेर जनताका घर घरमा पुग्नुपर्यो,’ उनले भने । भातृ तथा शुभेच्छुक संगठनको सक्रियताले मात्र पार्टीको अभियानले सार्थकता पाउने विश्वास गरे । उनले भने, भातृ तथा शुभेच्छुक संगठन क्रियाशिल भएनन् भने पार्टीमा उर्जा आउँदैन ।’
जनताको घर दैलोमा जाँदा पार्टीका कार्यकताहरु अनुशासित रुपले प्रस्तुत हुनुपर्ने केन्द्रीय सदस्य गिरीले बताए । स्थानीय तहको निर्वाचन लक्षित कांग्रेसको एक महिने अभियानलाई सफल पार्नमा भातृ तथा शुभेच्छुक संगठनको भुमिका महत्वपूर्ण हुने बताए । नेता गिरी पार्टीको एक महिने अभियानका लागि बाँकेमा केन्द्रीय प्रतिनिधीका रुपमा खटिएका छन् ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पार्टीले भातृ तथा शुभेच्छुक संगठनलाई जिल्लाका ८ वटै स्थानीय तहमा संस्थागत जिम्मेवारी सहित खटाइने बताए । भातृ तथा शुभेच्छुक संगठनलाई साथमा लिएर पार्टीको अभियान सञ्चालन गरिने उनको भनाई छ ।
सो क्रममा नेपाल तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र शाह, नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्णप्रसाद आचार्य, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादव, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, किसान संघ बाँकेका अध्यक्ष भानुभक्त भट्टराई, महिला संघ बाँकेका अध्यक्ष नारायणी रुपाखेती, नेपाल निजामति कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्धब श्रेष्ठ, आदीवासी जनजाती संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, साँस्कृतिक संघका सन्तोष पौडेल, ट्रेड युनियन कांग्रेसका प्रतिनिधी लगायतले पार्टीको अभियानबारे आफ्नो सुझाव तथा धारणा राखेका थिए ।
छलफलका क्रममा कांग्रेस बाँकेका उपसभापतिद्धय कृष्ण कार्की र गोपालप्रसाद अधिकारी, सह-सचिवद्धय रेणु सिंह र बिनोद थारु, नेपालगन्ज उपमहानगरपालिकाका नगर उप-प्रमुख उमा थापामगर लगायत पनि उपस्थित भएका थिए ।