८ बैशाख २०८२, सोमबार

ऊर्जामन्त्रीद्वारा न्यू बुटवल २२० केभी सब-स्टेशनको उद्घाटन
  • न्युज मानसराेवर

बुटवल\  नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण गरिएको २२०/१३२ केभी न्यू बुटवल सब- स्टेशनको उद्घाटन गरिएको छ ।

ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिहीबार सब- स्टेशनको उद्घाटन गरेकी हुन् । मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सुदृढीकरणका लागि न्यू बुटवल सब- स्टेशनको निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विद्युत  छिमेकी मुलुकहरुमा विक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रुपमा अगाडि बढिरहेको बताइन् ।

रसिया र युक्रेन बीचको युद्धले अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेकोले यसको प्रभाव नेपालमासमेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध विद्युतको खपत बढाउन आग्रह गरिन् ।

ऊर्जा सचिव देवेन्द्र कार्कीले न्यू बुटवल सबस्टेशन बनेपछि भारतसँग विद्युत् व्यापारका लागि थप पूर्वाधार तयार भएको बताइन् ।

नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्रामडलले नर्वेले नेपालको ऊर्जा क्षेत्रमा करीब ९ करोड अमेरिकी डलर सहयोग गरिरहेको जानकारी दिंदै सब- स्टेशन निर्माणबाट विद्युत् प्रसारण तथा वितरणलाई गुणस्तरीय र भरपर्दो बनाउने बताउइन् ।

उनले ऊर्जालाई प्रतिश्पर्धी बनाउन सकिएमा नेपाल दक्षिण एशियाली क्षेत्रकै विद्युत् हब बन्न सक्ने बताइन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनबाट स्थानी क्षेत्रमा विद्युत् आपूर्तिका लागि अर्को ३३/११ केभीको सबस्टेशन निर्माण गर्न लागिएको बताए ।

उनले नेपालको विद्युत् महसुल सस्तो रहेको र मागेजति विद्युत् उपलब्ध गराइरहेकोले यस क्षेत्रमा उद्योगहरु खोल्न आग्रह गरे ।

एशियाली विकास बैक नेपाल कार्यालयको पोर्टफोलियो विभाग प्रमुख  रुडिभान डेयलले सबस्टेसन तोकिएको लागतमा निर्माण सम्पन्न गरी उदाहरणीय कार्य भएको टिप्पणी गरे । उनले  स्वच्छ, विश्वसनीय र गुणस्तरीय विद्युत्  आपूर्तिका लागि सबस्टेसनको ठूलो योगदान रहने बताए ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् म्यादीको दानाबाट सुरु हुने कालीगण्डकी किरडोर २२० कभी प्रसारण लाइन हुँदै न्यू बुटवल सब- स्टेशनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।

नेपाल सरकारकोको लागानी, नर्वेको अनुदान र एशियाली विकास बैकको सहुलितपूर्ण ऋणमा सब- स्टेशनको निर्माण गरिएको हो ।

सब- स्टेशन निर्माणका लागि ८ नेभेम्बर २०१७ मा करीब एक अर्ब आठ करोड रुपैयामा टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य एक अर्ब पाँच करोड रुपैयाँमा २३ नेभेम्बर २०२१मा सम्पन्न भएको थियो ।

नेपाल र भारत बीचको विद्युत् व्यापारका लागि लागि दोस्रो क्रसबोर्डर प्रसारण लाइन पनि  न्यू बुटवल सब- स्टेशनबाट शुरु हुने छ ।

नेपाल र भारत बीच विद्युत् व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ । करीब २० बीघा जमीनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सब- स्टेशनपछिको  दोस्रो ठूलो विद्युत् हब बन्ने छ ।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत दिने अनुदानबाट न्यू बुटवलमा ४०० केभीको अर्को सब- स्टेशन पनि बन्ने छ । एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्ने छ । बर्दबाट–न्यू बुटवल  २२० केभी र न्यू बुटवल– कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ ।

  • ३ चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech