बाँके\ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल नहुने बताएका छन् ।
कांग्रेसले हिर्कायो भन्दैमा एमालेले प्रचण्डलाई आऊ मिलौँ नभन्ने उनले बताए ।
शुक्रवार धादिङ सदरमुकाममा आयोजित कार्यक्रममा महासचिव पोखरेलले देश र जनताप्रति घात गर्नेहरूसँग सहकार्य नहुने बताएका हुन् ।
‘हिजो आज हामी सुन्दैछौं- कांग्रेसले टेरेन भने एमालेसँग मिल्छौँ । एमालेले लिए न मिल्ने हो,’ प्रचण्डलाई जवाफ फर्काउँदै पोखरेलले भने, ‘देश र जनताप्रति घात गर्नेलाई कांग्रेसले हिर्कायो आऊ भन्नेवाला छैनौँ । जनमतमाथि घात गर्ने नेताहरू हामीलाई स्वीकार्य छैन । देउवाको कार्यकर्ता बन्न गए हुन्छ ।’
बिहीवार बुटवलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले अपमान गर्दै गए एमालेसँग चुनावी तालमेल हुन सक्ने बताएका थिए । जवाफमा महासचिव पोखरेलले फेरि नेतामात्र मिलाएर जाँदा जनताले नपत्याउने बताएका हुन् ।
‘प्रचण्ड र नेपाल पुँजीवादको हिमायती हो, चुनावको बेला फेरि उनीहरूलाई ल्याएर मिलाउने कुरा सुन्छु । फेरि तिनलाई ल्याएर जाँदा जनताले पत्याउँछन् हामीलाई ? हिजो नेता मिलाएर जान खोजेका थियौं, अब नयाँ प्रयोग गर्दैछौँ । कार्यकर्ताको मन मिलाएर कम्युनिष्ट मिलाउन खोज्दैछौँ,’ उनले भने ।