बाँके\नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दामोदर आचार्यको निधन भएको छ । भेरी अस्पताल नेपालगन्जमा शनिबार बिहान उनको निधन भएको हो । ५९ वर्षीय आचार्य नेपाल उद्योग वाणिज्य महासंघको पुर्वकेन्द्रीय सदस्य पनि हुन् ।
विगत केही वर्षदेखी क्यान्सर रोगबाट उनी पीडित थिए । भारतको दिल्लीमा उपचार गराएर घर फर्केपनि उनी क्यान्सर रोगबाट पूर्ण रुपमा मुक्त हुन सकेका थिएनन् । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य समेत रहेका आचार्य नेपालगन्जका चर्चित समाजसेवी हुन् ।
नेपालगन्जको समग्र विकास निर्माण, सार्वजनिक सरोकारका विषय, उद्योगी ब्यवसायीका मुद्दामा अत्यन्त चिन्तित र गम्भिर रहने उनको स्वभाव थियो । आचार्यको निधनपछि नेपालगन्ज क्षेत्र शोकमग्न बनेको छ ।
अर्थमन्त्री जनार्दन शर्मा, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, माओबादी नेता कार्यकर्ता, विभिन्न दलका अध्यक्ष तथा प्रतिनिधी, उद्योगी, ब्यवसायी लगायत स्वर्गिय आचार्यको निवासमै पुगेर श्रद्धाञ्जली दिएका छन् । उनलाई शनिबार नै राप्ती नदीमा लगेर धार्मिक विधिपुर्वक दाहसंस्कार गर्ने पारिवारीक स्रोतले जनाएको छ ।