बाँके\सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग यो वर्ष २४ लाख क्विन्टल उखु क्रसिङ गरेर बन्द भएको छ ।२४ लाख १३ हजार क्विन्टल उखु क्रसिङ गरी यो सिजनका लागि मिल बन्द गरिएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भए पनि उखु अभावका कारण लक्ष्य पूरा गर्न सकेन ।
उखु प्रबन्धक रजकका अनुसार उद्योगले फागुन १० गतेसम्म किसानबाट खरिद गरेको उखुको करिव ८० करोड रुपियाँ भुक्तानीसमेत गरिसकेको छ । बाँकी किसानको पनि क्रमैसँग भुक्तानी गर्दै जाने उद्योगले जनाएको छ ।सर्लाहीका तीनवटा चिनी उद्योगमध्ये महालक्ष्मी चिनी उद्योग, बगदह र अन्नपूर्ण चिनी उद्योग, धनकौल यसअघि नै बन्द भइसकेका छन् ।
महालक्ष्मीले यो वर्ष आठ लाख ३८ हजार क्विन्टल र गत वर्ष बन्द भएर यो वर्षदेखि पुनः सञ्चालनमा आएको अन्नपूर्णले ४० हजार क्विन्टल उखु क्रसिङ गरेर बन्द भएका हुन् । भुक्तानी लिन झन्झट बेहार्नुपर्ने र रकम लिनै नसकेकोजस्ता समस्याले गर्दा किसानले उखु खेती कम गर्दै लगेपछि चिनी उद्योगलाई पर्याप्त उखु उत्पादन हुन नसकेको हो । पछिल्ला वर्षहरूमा उखु नपाएर चिनी उद्योगहरू छोटो समय सञ्चालन भएर बन्द हुने गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।