बाँके\ आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समावेश गर्नुपर्ने बिषयबारे नेपाल राष्ट्र बैंकले नेपालगन्जका सरोकारवाला पक्षसँग सुझाव लिएको छ । राष्ट्र बैंकको अनुसन्धान विभागले मंगलबार आयोजना गरेको अन्तरक्रियामा उपस्थित भएका यहाँका सरोकारवाला पक्षले विभिन्न राय तथा सुझाव दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले स्वदेशमा उत्पादनलाई प्रोत्साहन बढाउने खालका नीति नबन्दासम्म निर्यात बढ्न नसक्ने सुझाव दिए । सरकारका नीति निर्माताहरुले त्यसतर्फ ध्यान नदिएको उनको गुनासो छ । केएल दुगड गु्रपका प्रबन्धक प्रदीप छाजेडले कुनै बेला आत्मनिर्भर रहेका कृषि उत्पादनलाई अहिले आयात गर्नुपर्ने अवस्था आउनु दुःखद कुरा भएको बताए ।
नेपालगन्जका जडिबुटी ब्यवसायी रविन्द्रनाथ शुक्लाले वार्षिक रुपमा करोडौं रुपैयाँको जडिबुटी निकासी हुने गरेपनि सरकारले जडिबुटीलाई कहिल्यै सम्बोधन नगरेको गुनासो गरे । वरिष्ठ उद्योगी कन्हैयालाल बैद्यले स्वदेशमा सामाग्री उत्पादन कसरी गर्ने भन्ने नीति बनाउनुपर्ने सुझाव दिए ।
अर्का उद्योगी चम्पालाल बोथराले विदेशबाट आयात हुने गरेका कयौं कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न सकिने सम्भावना भएपनि नीतिगत समस्याले गर्न नसकिएको बताए । कार्यक्रममा बोल्ने अन्य सरोकारवालाले आर्थिक वृद्धि गर्नका सरकारले सहुलियतपूर्ण कर्जा, ऋण अनुदान जस्ता कार्यक्रममा जोड दिनुपर्ने सुझाव दिए । सो क्रममा हानका प्रतिनिधी केशव न्यौपाने, ओम मिश्र लगायतले पनि सुझाव दिएका थिए ।
उक्त कार्यक्रममा राष्ट्र बैंक अनुसन्धान विभागका उपनिर्देशक डाक्टर सञ्जयप्रसाद मिश्रले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए, भने राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग निर्देशक डाक्टर डिल्लीराम पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।