२८ असार २०८२, शनिबार

क्षमताभन्दा बढी सुधारगृहमै बालक
  • न्युज मानसराेवर

बाँके\ बालबिजाइँ (उपद्रव) गर्नेलाई सुधार गृहमा राख्ने गरिन्छ । सुधार गृह कारागारभन्दा भिन्न हुनुपर्ने हो । तर, बाल बिजाइँमा संलग्न बालबालिकालाई सुधार्नका लागि सञ्चालनमा ल्याइएको बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृह नै व्यवस्थित छैन । जसकारण त्यहाँका बालक समस्यामा परेका छन् ।सजाय भुक्तान गरिरहेका बालकलाई पढ्ने, लेख्ने मात्र होइन, राम्रो खाने, बस्ने व्यवस्था हुनुपर्नेमा यहाँ त्यस्तो केही व्यवस्था छैन । छ त मात्र कडा सुरक्षा घेरा ।

बाँके\बालसुधार गृहमा गर्मीको समयमा पनि एकै कोठामा ८३ जनासम्म बालक राखिएको छ । सानाठूला गरी पाँचवटा कोठामा राखिएका बालक ठूला दुईवटा हलमध्ये एउटामा ८३ र अर्कोमा ७३ जना बस्छन् । अन्य साना कोठा र शौचालयअगाडिको भागमा सुत्छन् । क्षमताभन्दा बढी बालक राखिँदा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको हो ।

७० जनाको क्षमता भएको बालसुधार गृहमा अहिले १ सय ८३ जना बालक रहेको बालसुधार गृहकी इन्चार्ज विमला काउचा मगरले बताइन् । ‘ठूलो समस्या भनेकै क्षमताभन्दा बढी बालक हुनु हो,’ उनले भनिन्, ‘सीमित कोठामा धेरै बालक राख्नुपर्दा व्यवस्थापनमा समस्या थपिएको छ ।’

बालसुधार गृहमा क्षमताभन्दा बढी बालक राख्दा गर्मीको बसाइ कष्टकर देखिएको एड्भोकेसी फोरमका अधिवक्ता वसन्त गौतमले सुनाए । ‘एउटै कोठामा धेरैजना बस्दा छाला सम्बन्धी रोगको संक्रमण फैलिएको छ,’ उनले भने, ‘यहाँका ५० भन्दा बढी बालकमा यस्तो संक्रमण पुष्टि भएको हो ।’

१८३ बालकका लागि ४ वटा शौचालय छन् । बिहानमा पालो पर्खेर शौच जानुपर्ने बाध्यता छ । बालसुधार गृहमा अन्य समस्या त छँदै छन्, त्यसमाथि ढलको व्यवस्थापन हुन नसक्दा भान्सापछाडि ढलको पानी गन्हाउने, लामखुट्टेले सताउने गरेको पीडा बालकले सुनाउने गरेको अधिकारकर्मी गौतमले बताए ।

बालकहरुलाई पढाउन २ जना शिक्षकको व्यवस्था गरिएको छ । सुधार गृहका पाँच जना बालकले स्वयंसेवी रूपमा पढाउने गरेका छन् । सुधारगृहमा ५ देखि ८ कक्षासम्म दैनिक रूपमा पढाउने गरिएको इन्चार्ज काउचा मगरले बताइन् । ‘अध्ययन नगरेका बालकलाई आधारभूत शिक्षा दिन्छौं,’ उनले भनिन्, ‘त्यसपछि सोझै ५ कक्षामा भर्ना गरेर पढाउँछौं ।’

  • १८ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech