८ जेष्ठ २०८२, बुधबार

महिला सदस्यले पनि अवसर पाए वडाध्यक्ष हाँक्न सक्छन्
  • न्युज मानसराेवर

बाँके\ गत स्थानीय तहको निर्वाचनमा बाँकेका ८१ वडामा कुनै पनि महिला वडाध्यक्षमा निर्वाचित भएनन् । तर, नेपालगन्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष विष्णुबहादुर लामाको गत माघमा निधन भएपछि अहिले वडाध्यक्षको जिम्मेवारी महिला सदस्य सीमा केसीले सम्हालेकी छन् । ‘पहिला पनि कार्यवाहक भएर काम गरेको हुँदा गाह्रो छैन,’ उनले भनिन्, ‘वडाध्यक्षको निधनपछि बाँकी समयका लागि जिम्मेवारीअनुसार काम गर्दै छु ।’

विकासको दृष्टिकोणले धेरै पछि परेको यो वडामा पुराना बस्ती बढी छन् । अधिकांश क्षेत्र ग्रामीण छन् । जनजाति, मधेसी, मुस्लिम समुदायको मिश्रित बसोबास छ । ‘सबैका समस्या सम्बोधन गर्ने प्रयास गर्दै छु,’ केसीले भनिन्, ‘दिनरात काममा खटिनुपर्छ, घरपरिवारलाई समय दिन पनि पाउँदिनँ ।’ उनका तीन छोरा र एक छोरी छन् । केसी राजनीतिमा नयाँ भने होइनन् । वडा ९ स्थित आनन्दनगरवासी उनी सामाजिक कामबाट राजनीतिमा होमिएकी हुन् । चार वर्षअघि उनी नेकपा एमालेको साधारण कार्यकर्ता थिइन् । स्थानीय तहको चुनावमा पार्टीले उनलाई वडा सदस्यको टिकट दियो । भारी मतले उनी निर्वाचित भइन् ।

अहिले कार्यवाहकको जिम्मेवारी पाएकी केसीले अवसर पाए आगामी दिनमा वडाध्यक्षको जिम्मेवारी लिन तयार रहेको बताइन् । ‘अनुभवले नै क्षमता बढाउँदै लैजाने हो,’ कक्षा पाँचसम्म पढेकी उनले भनिन्, ‘छोटो समयमा पाएको जिम्मेवारीले आत्मविश्वास मात्रै बढाएको छैन, अवसर पाए काम गर्न सकिन्छ भन्ने बोध पनि गराएको छ ।’ अहिले उनी वडाको भौतिक पूर्वाधारका कामलाई प्राथमिकता दिइरहेकी छन् । केही सडक पक्की बनेका छन् । केही ग्राभेल तथा माटो पटान गरी स्तरोन्नति गरिएको छ । ‘विकास भनेको त्यसबेला देखिन्छ,’ उनले थपिन्, ‘जतिबेला वडाका टोलटोलका बाटाहरू पक्की बन्ने छन् । जसले स्थानीयको सामाजिक, आर्थिक क्षेत्रमा परिवर्तन ल्याउनेछ ।’

महिला जनप्रतिनिधिको भूमिका सहयोगी हुने गरेको र वडाका हरेक काम छलफल/सल्लाहमै भइरहेको वडासचिव द्रोणबहादुर बोहराले बताए । ‘सानो बजेटका टुक्रे योजना कार्यान्वयनमा समस्या हुने गरेको छ,’ उनले भने, ‘महिला वडाध्यक्ष आएपछि यहाँका महिलालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने काम गरेका छौं ।’ स्थानीय तहको प्रमुखमा महिला पनि हुन सक्ने व्यवस्था रहेको स्थानीय शासन विज्ञ मीनबहादुर मल्लले बताए । तर, अनिवार्य पदबाहेक अन्य पदमा महिलालाई स्वीकार गर्न सक्ने अवस्था नरहेको उनले सुनाए । ‘निर्वाचनअघि मात्र महिला समावेशीका मुद्दा उठाएर हुँदैन,’ उनले भने, ‘स्थानीय तहमा महिलालाई अवसर दिँदा लोकतन्त्र थप बलियो हुन्छ ।

  • २० चैत्र २०७८, आईतवार प्रकाशित

  • Nabintech