८ जेष्ठ २०८२, बुधबार

कांग्रेस कपिलवस्तु नगरपालिकाले पनि कुनै दलसँग गठबन्धन नगर्ने
  • न्युज मानसराेवर

रूपन्देही \सरकारमा सहभागी दलहरू स्थानीय तहको निर्वाचनका लागि गठबन्धनको तयारी गरिरहेका बेला नेपाली कांग्रेस कपिलवस्तु नगरपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ । नगर कार्य समितिको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।

अन्य दलसंग गठबन्धन र तालमेलका विषयमा कांग्रेस कपिलवस्तको तौलिहवास्थित पार्टी कार्यालयमा सम्पन्न बैठकमा नगर कार्य समिति र १२ वटै वडामा वडा समिति अध्यक्षले गठबन्धन गर्न नहुने अडान राखेपछि यस्तो निर्णय भएको हो ।

नगर कार्य समिति र वडा समितका अध्यक्षसहितको बैठकले अन्य दलहरुसंग गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जानु पर्ने राय आएको नगर अध्यक्ष खुर्सेद अहमद खाँले बताए । मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यसहित कुनै पनि पदमा अन्य दलसंग गठबन्धन नगरी एक्लै चुनाव लड्ने र आफ्नो आधिकारिक उम्मेदवारलाई जिताउने निर्णय भएको उनले बताए ।

उनले ईमान्दारीसंग एकबद्ध भइ कांग्रेस लागेमा यसपटक पनि कांग्रेस विजयी हुने बताए । सरकारमा सहभागी सबै दलले जिल्लाका सबै तहमा गठबन्धन गर्नका लागि संयन्त्र बनाए पनि सदरमुकाममा रहेको यो पालिकामा कांग्रेसको यो निर्णयले संयन्त्रको औचित्यमाथि प्रश्न उठेको जसपाका एक नेताले बताए ।

  • २१ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech