बाँके\ २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कुन पार्टीले कसलाई कहाँ उम्मेदवार बनाउँछ भन्ने चासो आमरुपमा छ । बाँकेका ८ स्थानीय तह मध्ये यसअघि कांग्रेसले उपप्रमुख र धेरै जसो वडामा विजय हासिल गरेको कोहलपुर नगरपालिकामा यसपटक को-को उम्मेदवार बन्छन् भन्ने चासो सबैतिर छ ।
सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन बनेको अवस्थामा एउटा परिस्थिति बन्ला तर कांग्रेस एक्लै लडे पनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने स्थिति रहेकाले कोहलपुर नगरपालिकाको मेयर र उपमेयरको टिकट कसले पाउँछ भन्ने चर्चा कांग्रेस बृत्तमा छ । कांग्रेसको लागि सुरक्षित मानिएको यो नगरपालिकामा आधा दर्जन पुरुष आकांक्षीको बीचमा युवा नेतृ कांग्रेस बाँकेकी सचिव एवं कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी थारुको सशक्त दाबेदारी छ । मेयरमा दाबी गर्ने उनी एक्ली महिला नेतृ हुन् ।
नगरपालिकाको मेयर लड्ने मनस्थितिका साथ उपप्रमुख थारु केही समय अगाडिदेखि नै तयारीमा जुटिसकेकी छिन् । “म मेयरको स्वभाविक दाबेदार हुँ, उपमेयर भएर मैले हासिल गरेको अनुभवले मलाई मेयर भएर काम गर्न अझ सहयोग गर्नेछ, उपमेयरका हैसियतमा मैले खेलेको भूमिकाको पार्टीले अवश्य मूल्यांकन गर्नेछ भन्ने विश्वास लिएको छु,” युवा नेतृ थारुले बागेश्वरी पोस्टसंग भनिन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा लोकप्रिय मत ल्याएर उपप्रमुखमा निर्वाचित थारु कोहलपुर नगरपालिकाको मेयर पदकी प्रबल दाबेदार मानिएकी छिन् ।
“कोहलपुरको उपप्रमुखमा निर्वाचित भए पश्चात् नगर विकासमा सन्जुले गरेको योगदानका कारण कोहलपुरवासीले मेयरमा उनी नै उपयुक्त उम्मेदवार हुने धारणा राख्ने गरेको पाइएको छ, एक कांग्रेस नेताले भने । उनी भन्छन्-“बिपक्षी पार्टीका कोहलपुरका मेयर भएकै कारण हरेक बाधा अडचनका बाबजुद लडेर भएपनि जनताका धेरै भन्दा धेरै कार्यहरु गर्न सफल भएकी थारु नै कांग्रेसबाट कोहलपुरको मेयरको उम्मेदवार बन्ने धेरै सम्भावना छ ।”
कोहलपुर नगरपालिका वडा नम्बर ६ की स्थायी बासिन्दा उपमेयर थारु १४औं महाधिवेशनबाट बाँके कांग्रेसको सचिव पदमा निर्वाचित भएकी हुन् । अघिल्लो स्थानीय तहको निर्वाचन निर्वाचित मेयर भन्दा पनि एक हजार बढी मत ल्याउन सफल उपप्रमुख थारुले व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी छिन् भने कानुन अन्तर्गत् एलएलबीतर्फ तेस्रो बर्षमा अध्ययनरत रहँदै आएकी छिन् ।
थारु बाहेक कोहलपुरको मेयरका लागि बलराम शर्मा, चिन्तामणि धिताल, भानुभक्त भट्टराई, पूर्ण आचार्य, चक्र अधिकारी, फुलाराम थारु र राजेन्द्र श्रेष्ठले पनि दाबेदारी गरिरहेका छन् ।