८ बैशाख २०८२, सोमबार

महँगीदर ७ प्रतिशत नाघ्यो, शोधनान्तर घाटा दुई खर्ब ५८ अर्ब
  • न्युज मानसराेवर

काठमाडौँ\नेपालमा फागुनमा मात्रै महँगीदर ७ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.१४ प्रतिशत पुगेको हो ।

वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति गत वर्षको सोही अवधिसम्मको तुलनामा ४ प्रतिशत भन्दा बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत मात्रै थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत छ ।

फागुन २०७७ को तुलनामा यो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी, दूधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि सबैभन्दा बढी छ । यसमध्ये सबैभन्दा बढी मूल्यवृद्धि घ्यू तथा तेलमा छ । घ्यू तथा तेलमा २६.३४ प्रतिशतको मूल्यवृद्धि भएको राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकमा उल्लेख छ ।

यो अवधिमा तरकारी १३.९६, दूधजन्य उत्पादन तथा अण्डामा ११.३० प्रतिशत र दाल तथा गेडागुडीमा १०.३० प्रतिशतको मूल्यवृद्धि छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको पनि राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ फागुनमा यी क्षेत्रहरूमा क्रमशः २.५० प्रतिशत, ३.२५ प्रतिशत, ३.४० प्रतिशत र १.३१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यो अवधिसम्मको तथ्यांकअनुसार देशको चालू खाता घाटा ४ खर्ब ६२ अर्ब ९३ करोड रूपैयाँ पुगेको छ । गत वर्ष यस्तो चालू खाता घाटा १ खर्ब ५१ अर्ब मात्रै थियो ।

यो अवधिसम्ममा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रूपैयाँले घाटामा छ । यस्तो शोधनान्तर स्थिति गत वर्षको फागुनमा ६८ अर्ब १ करोड रूपैयाँ बचतमा थियो ।

यो अवधिसम्ममा देशको ढुकुटीमा रहेको विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७१ अर्ब रूपैयाँ (९ खर्ब ५८ करोड डलर)मात्रै रहेको छ । यस्तो विदेशी मुद्राको सञ्चिति गत वर्षको फागुनमा १४ खर्ब ३६ अर्ब रूपैयाँ रहेको पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार यो अवधिमा रेमिट्यान्स आय भने बढेको छ । फागुनको रेमिट्यान्स आय भने ९१ अर्ब रूपैयाँ रहेको छ ।

यस्तो रेमिट्यान्स हालसम्म ६ खर्ब ३१ अर्ब १९ करोड रूपैयाँको आएको छ । यस्तो रेमिट्यान्स गत वर्षको सोही अवधिका तुलनामा १.७ प्रतिशतले कम हो । यो वर्ष साउनदेखि नै निरन्तर घटिरहेको रेमिट्यान्स फागुनमा भने ३ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

  • २९ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech