१२ असार २०८२, बिहीबार

कर्णालीमा बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौं : मुख्यमन्त्री शाही
  • न्युज मानसराेवर

बाँके\मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताएका छन् ।   सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालक र प्रदेश सरकार बीच सोमवार मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा उनले बाह्य लगानी नआउँदासम्म कर्णाली विकासमा पछाडि पर्ने बताए ।

उनले खानी र उद्योगसम्म सडक तथा पानी पुर्‍याउन प्रदेश सरकारले तत्कालै काम थाल्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा करलगायतका क्षेत्रमा सहुलियत प्रदान गर्न सरकार तयार हुने बताए ।  प्रदेश सरकारले नीतिगतरुपमै आवश्यक सहुलियतको व्यवस्था गरे पनि प्रदेशमा ठूला लगानीकर्ता आउन नसकेको उनको भनाइ छ ।

बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा खानी र चौकुनेमा उद्योग सञ्चालन गर्न लागेको सूर्यताराले आवश्यक सहजीकरण र भावी योजनाकाबारेमा प्रदेश सरकारलाई जानकारी गराएको थियो ।

झण्डै १५ अर्ब  रुपैयाँ बराबरको लगानीमा सञ्चालन हुन लागेको उद्योगले दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । यसका लागि उद्योगले चौकुनेमा आवश्यक जग्गा खरीद गरिसकेको छ ।

सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले उद्योगका लागि जग्गा प्राप्ति भइसकेको र पहुँचमार्गलगायत संरचना निर्माणको काम प्रक्रियामै रहेको जानकारी दिए। उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाख रुपैयाँको लगानी स्वीकृत गरेको
छ । उद्योगले बराहताल–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमीनबाट चुनढुङ्गा उत्खनन् गर्नेछ भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बीघा जमीन खरीद गरेको छ । उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै ३ हजार टन क्लिङ्कर उत्पादन गर्नेछ ।  रासस

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech