बाँके\ नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले मेयर र उपमेयर बाँडफाँट गर्दा महिला सहभागितालाई उपेक्षा गरेका छन् । काँग्रेसले मेयरमा प्रशान्त बिष्ट र उपमेयरमा समाजवादीले कमरुद्धिन राईलाई उम्मेदवार बनाएको छ । सत्तागठबन्धनको नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले मुख्य पदमा केही नपाएपछि वडामा भने एकल प्रतिस्पर्धा गर्दै छन् । तर काँग्रेस र जनता समाजवादी पार्टीले महिला सहभागिता नगराएपछि नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका छन् ।
समाजवादीमा राई मेयरका उम्मेदवार घोषणा भई प्रचारप्रसारमै जुटिसकेका थिए । आफुलाई भाग परेको उपमेयर नलिने घोषणा गरेका राईले केन्द्रीय निर्णय मान्ने भन्दै उपमेयरमै चित्त बुझाए । उनले उपमेयरमै चित्त बुझाएपछि समाजवादीकी उपमेयरको सम्भावित उम्मेदवार रमारानी बैश्यले पार्टी छाडेकी छन् । उनी रुष्ट भएपछि राप्रपा नेपालमा प्रवेश गरेकी हुन । गठबन्धनका नाममा महिलाहरु माथी गठबन्धनले अन्याय गरेको भन्दै माओवादीकै उम्मेदवार महिला नेताहरु समेत रुष्ट छन् ।