१० जेष्ठ २०८२, शुक्रबार

रोचक स्थानीय चुनाव : आमालाई ‘धर्मसंकट’– कुन छोरो रोज्ने ?
  • न्युज मानसराेवर

बाँके\ स्थानीय तह निर्वाचनमा परिवारकै सदस्यहरू समेत एकअर्काको प्रतिद्वन्द्वी बनेर चुनावी मैदानमा उत्रिएका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर– १ मा सहोदर दाजुभाइ एउटै पदका लागि अलग–अलग पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् ।

नेपालगञ्ज वडा नम्बर १ को अध्यक्षमा नेकपा (एमाले)बाट प्रमोद रिजाल उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट प्रमोदका सहोदर दाइ विनोद रिजाल  उम्मेदवार बनेका छन् ।

यसै पनि चर्चामा रहेको नेपालगञ्जको निर्वाचनलाई दाजुभाइको भिडन्तले थप रोचक बनाएको छ । दाजुभाइ नै चुनावमा फरक–फरक पार्टीबाट उम्मेदवार बनेपछि परिवारका सदस्यहरू कसलाई ‘भोटिङ’ (मतदान) गर्ने भन्ने दोधारमा छन् ।

नेपालगञ्ज वडा नम्बर १ को अध्यक्षमा नेकपा (एमाले)बाट प्रमोद रिजाल उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट प्रमोदका सहोदर दाइ विनोद रिजाल  उम्मेदवार बनेका छन् । यसै पनि चर्चामा रहेको नेपालगञ्जको निर्वाचनलाई दाजुभाइको भिडन्तले थप रोचक बनाएको छ । दाजुभाइ नै चुनावमा फरक–फरक पार्टीबाट उम्मेदवार बनेपछि परिवारका सदस्यहरू कसलाई ‘भोटिङ’ (मतदान) गर्ने भन्ने दोधारमा छन् ।

प्रमोद बहालवाला वडाध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता समेत हुन् । विनोदलाई अहिले कांग्रेसले टिकट दिएपछि उम्मेदवार बनेका हुन् ।   उनीहरू चार दाजुभाइ हुन् । विनोद जेठा, प्रमोद माइला, सुमोद साँइला र आमोद कान्छा हुन् । सुमोद शिक्षक र आमोद सहकारीको व्यवस्थापक छन् । दाजुहरू एकअर्का विरुद्ध उत्रिरहेकै बेला चार भाइमध्येका साँइला सुमोदलाई कसलाई भोट हाल्ने भन्ने धर्मसंकट परेको छ ।

‘दुई दाजुभाइले चुनावमा एकअर्काविरुद्व उम्मेदवारी दिएका छन् । कसलाई भोट हाल्ने ‘कन्फ्युजन’मा परेको छु । गोप्य मतदान हो । एउटालाई त हाल्नै पर्‍यो । अहिले नै यसलाई नै हाल्छु भन्न मिल्दैन ।’ भाई सुमोदले  भने ।

प्रमोद र विनोद लामो समयदेखि फरक–फरक दलबाट राजनीतिमा होमिएका चर्चित जिल्ला नेताहरू हुन् । प्रमोद र विनोदकी आमा ६८ वर्षीया लक्ष्मीलाई कुन छोरालाई मतदान गर्ने सबैभन्दा अप्ठ्यारो छ ।

आमा लक्ष्मीसँग अहिलेसम्म दुवै भाइले भोट मागेका छैनन् । आमाका लागि छोराहरू बराबर हुन् । तर, मतदान गर्दा एउटालाई मात्र छान्नुपर्ने हुन्छ । त्यसैले उनी मतदानमै सहभागी नहुने कि भन्ने सोचमा पुगेको परिवार बताउँछ ।  चार भाइमध्ये प्रमोद, सुमोद र आमोद एउटै ‘बाउन्ड्री’भित्र छुट्टा–छुट्टै घर बनाएर बसेका छन् भने विनोद केही पर बस्छन् ।  दाजुभाइबीचको चुनावी प्रतिस्पर्धालाई सहज रूपमा लिनुपर्ने प्रमोद बताउँछन् ।

‘हामीले यसलाई सहज रूपमा लिनुपर्छ । दाइको फरक राजनीतिक पृष्ठभूमि, मेरो फरक राजनीतिक पृष्ठभूमि हो । हामीबीच स्वस्थ प्रतिष्पर्धा हुन्छ । जसले जित्छ, जित्छ ।’ गएको निर्वाचनमा प्रमोदले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार बलराम सुनारलाई ३०० भन्दा बढी मतान्तरले जितेका थिए । प्रमोदको मत ८१७ थियो । त्यो वडामा कांग्रेस तेस्रो स्थानमा रहेको प्रमोद बताउँछन् ।

कार्यअनुभव र जनताको सुखदुःखमा जोडिँदै आएकाले यस पटक पनि आफूले चुनाव जित्ने प्रमोदको दाबी छ । एमालेले नेपालगञ्जको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शक्ति ढकाललाई उम्मेदवार बनाएको छ ।

कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका विनोद तरुण दलका जिल्ला सचिव हुन् । यसपटक गठबन्धनका उम्मेदवारले नेपालगञ्जको सबै क्षेत्र जित हात पार्ने विनोद बताउँछन् । ‘आमालाई हामीले अप्ठ्यारोमा पार्दैनौं । यो राजनीतिक प्रतिस्पर्धा हो । जसले जितेपनि हामी दाजुभाइमा माया, प्रेम र स्नेहमा खटपट आउँदैन ।’

त्यसै गरी कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–७ मा सहोदर दुइुभाइ वडा अध्यक्षमा फरक–फरक पार्टीबाट उम्मेदवार बनेर चुनावमा होमिएका छन् ।  अहिलेका वडाध्यक्ष विष्णु गिरी एमालेबाट र विष्णुका सहोदर दाइ नेत्रज्योति गिरी जनता समाजवादी पार्टी (जसपा) बाट वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

चुनावी प्रतिस्पर्धाले दाजुभाइबीच मनमुटाव शुरू भएको छ । नेत्र साविक मोतीपुर गाविसमा दुई कार्यकाल अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । अघिल्लोपटक (२०७४) मा विष्णुले दाइ नेत्रलाई वडाअध्यक्षमा उम्मेदवार बन्न आग्रह गरेका थिए । नेत्रले भाइलाई अगाडि सारे । तर, अहिले वडामा राम्रो काम गरेको भन्दै विष्णुलाई नै अगाडि बढाउने निर्णय एमालेले गर्‍यो ।  एमालेबाट टिकट नपाएपछि नेत्र एमाले छाडेर जसपा प्रवेश गरी उम्मेदवार बनेका हुन् । दाजुभाइबीचको चुनावी ‘टक्कर’ रोमाञ्चक हुन पुगेको स्थानीयहरू बताउँछन् ।

७ भाइमध्ये नेत्र माइलो र विष्णु साँइलो हुन् । नेत्र पञ्चायतकालमा वडाध्यक्ष र प्रजातन्त्र पुनःस्थापनापछि दुई कार्यकाल गाविस अध्यक्ष बनेका थिए । नेत्र मोतीपुर क्षेत्रमा लोकप्रिय छन् । भाइ विष्णु दाइले पार्टी परिवर्तन गरी उम्मेदवार बन्नु नैतिक हिसाबले ठीक नभएको बताउँछन् ।

‘दुई कार्यकाल अध्यक्ष भएको व्यक्ति पार्टी परिवर्तन गरेर उम्मेदवार बन्नु नैतिक हिसाबले पनि राम्रो भएन । उहाँलाई अघिल्लोपटक जिल्ला समन्वय समिति (जिसस) प्रमुखमा उम्मेदवार बनाइएको थियो । ३ मतले पराजित हुनुभएको थियो । अहिले आएर मविरूद्ध उम्मेदवारी दिनुभयो । ठीकै छ, जसले जित्छ, जित्छ ।’

यहाँ पनि आमा ८० वर्षीया हस्ता गिरी धर्म संकटमा छिन् ।  ‘आमा दाइ (नेत्र)सँग बस्नुहुन्छ, उहाँलाई नै दिनुहोला । तर, वडामा जसपाको केही जनआधार नै छैन । चुनाव मैले नै जित्छु, त्यसमा कुनै समस्या छैन,’ विष्णुले भने । आर्थिक र राजनीतिक रूपमा आफू पीडित भएकाले वडाध्यक्षमा लड्ने सहमति भएको तर भाइ विष्णुले सहमति उल्लंघन गरेको नेत्रको आरोप छ ।

त्यसै गरी  बाँकेकै कोहलपुर नगरपालिकामा पनि सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । कोहलपुर– ३ को वडाध्यक्षमा दाजु ताराकेशर रिजाल र भाइ माधव रिजालबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु ताराकेशर त्यतिबेला आफ्नै भाइसँग ६५ मतले पराजित भएका थिए । यसपालि पनि माधव एमालेबाट तथा ताराकेशर (माओवादी केन्द्र)बाट वडाध्यक्षमा भिड्दैछन् । उनीहरूकी आमालाई समेत कुन छोरा रोज्ने भन्ने धर्मसंकटको स्थिति दोहोरिएको स्थानीय बासिन्दा बताउँछन् ।

  • १८ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech