१३ बैशाख २०८१, बिहीबार

बाँकेको नरैनापुर गाउँपालिकामा इश्तियाक अहमद शाह विजयी
  • न्युज मानसराेवर

बाँके- स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव पुनः दोहोरिएका हुन्।

अध्यक्ष पदमा शाहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र मौर्यलाई एक हजार ३५२ मतको अन्तरले पराजित गरेका छन्। शाहले पाँच हजार ३७ मत प्राप्त गरी विजय हुँदा निकटम प्रतिस्पर्धी मौर्यले तीन हजार ६८५ मत ल्याएका थिए। नेकपा एमालेकी पद्मावती यादवनीले तीन हजार १२२ मत प्राप्त गरेको निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिए।

उनका अनुसार, उपाध्यक्षमा श्रीवास्तवले नेपाली कांग्रेसकी अतिकुन निसालाई २०७ मतको अन्तरले पराजित गरेकी छन्। श्रीवास्तवले तीन हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसकी अतिकुनले तीन हजार ६७२ मत ल्याएकी हुन्। तेस्रो स्थानमा नेकपा एमालेका पञ्चराम यादवले दुई हजार ८०४ मत प्राप्त गरेका छन्।

गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका इसाक जोलाह, वडा नम्बर २ मा जसपाका मसुद अहमद शाह, वडा नम्बर ३ मा जसपाका अजयकुमार मिश्र, वडा नम्बर ४ मा कांग्रेसका मनोजकुमार शर्मा, वडा नम्बर ५ मा कांग्रेसका कृष्णचन्द्र मौर्य र वडा नम्बर ६ मा कांग्रेसकै प्रेमचन्द्र मौर्य निर्वाचित भएका छन्।

  • ७ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech