७ बैशाख २०८१, शुक्रबार

स्थानीय तह निर्वाचन : ६९१ पालिकाको नतिजा आउँदा, कुन दलको अवस्था के ? (प्रदेशगत विवरण)
  • न्युज मानसराेवर

बाँके\ स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६९१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३०६ स्थानीय तहमा जित हात पर्दै पहिलो बदल बन्न सफल भएको छ । नेकपा एमालेले १८८ स्थानीय तह जित हासिल गरेको छ । माओवादी केन्द्र ११९ स्थानमा विजयी भएको छ । यस्तै जनता समाजवादी पार्टी जसपाले २५ नेकपा एकीकृत समाजवादी पार्टीले १७, र लोकतान्त्रिक समाजवादी पार्टीले १० तहमा जित हासिल गरेको छ ।

स्वतन्त्र, राप्रपा मजदुर किसान पाटी लगायतका अन्य दलहरूले २७ स्थानमा जित हासिल गरेका छन् ।

प्रदेशगत विवरण

प्रदेश १

प्रदेश १ का १३७ स्थानीय तह मध्य १२१ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । प्रदेश एकमा कांग्रेस पहिलो भएको छ भने एमाले दोस्रो र माओवादी तेस्रो भएका छन् ।

आहिले सम्म प्रदेश एकमा कांग्रेसले ४३ गाउँपालिका अध्यक्ष तथा १९ नगरपालिका गरी ६२ स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले २४ गाउँपालिका अध्यक्ष तथा १७ नगरको नेतृत्व गर्दै ४१ स्थानमा नेतृत्व गर्न सफल भएको छ ।

यहाँ माओवादी केन्द्रले १२ गाउँपालिका जितेको छ भने जसपा २ स्थानमा विजयी भएको छ । प्रदेश एकमा राप्रपा र नेकपा एसले एक एक स्थानमा जितेका छन् भने स्वतन्त्रले स्थानीय तहको नेतृत्व लिन सफल भएका छन् ।

मधेस प्रदेश

मधेस प्रदेशमा पनि कांग्रेस पहिलो शक्तिका रूपमा स्थापित भएको छ । मधेसमा कांग्रेसले १७ गाउँपालिका अध्यक्ष र २४ नगरपालिका गरी ४१ स्थानमा नेतृत्व लिएको छ भने एमालेले १० गाउँपालिका र ११ नगरपालिकामा नेतृत्व लिएर दोस्रो भएको छ ।

मधेसमा तेस्रो शक्तिका रूपमा जनता समाजवादी पार्टी स्थापित भएको छ । यहाँ जसपाले १५ गाउँपालिका र ५ नगरपालिकामा नेतृत्व लिएको छ । यो प्रदेशमा चौथो शक्तिका रूपमा मदेसवादी दल लोसपा निर्वाचित भएको छ । लोसपाले ४ गाउँपालिका र ३ नगरपालिकामा नेतृत्व लिन सफल भएको छ ।

७ गाउँपालिका र २ नगरपालिका गरी ९ स्थानीय तहको नेतृत्व गर्दै माओवादी केन्द्र भने पाँचौँ स्थानमा पुगेको छ । यहाँ नेकपा एसले ३ नगरपालिका र १ गाउँपालिकामा नेतृत्व नेकपा एसले लिएको छ भने स्वतन्त्र उम्मेदवार एक नगरपालिकामा विजयी भएका छन् ।
बागमती प्रदेश

बागमती प्रदेशमा ३४ गाउँपालिका र २२ नगरपालिका गरी ५६ स्थानीय तहमा कांग्रेसले नेतृत्व लिएको छ । एमालेले १७ गाउँपालिका र १० नगर पालिका गरी २७ स्थानीय तहको नेतृत्व लिँदै दोस्रो भएको छ । माओवादी केन्द्र बागमतीमा तेस्रो शक्तिका रूपमा आएको छ । २२ गाउँपालिका र ४ नगरपालिका सहित २६ स्थानीय तहको नेतृत्व माओवादीले पाएको छ ।

यो प्रदेशमा हाल सम्म नेकपा एसले ४ नगर पालिका र १ गाउँपालिका सहित ५ ओटा स्थानीय तहमा आफ्नो प्रभाव देखाउन सकेको छ । यहाँ राप्रपा मजदुर किसान पार्टीले पनि एक एक स्थानमा जीत हासिल गरेका छन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा हाल सम्मको नतिजालाई हेर्दा २७ गाउँपालिका र ८ गाउँपालिका सहित ३५ स्थानीय तहमा एमाले विजयी भएको छ । यहाँ २१ गाउँपालिका र १४ नगरपालिकाको नेतृत्व लिँदै कांग्रेस दोस्रो भएको छ । गण्डकी प्रदेशमा ९ गाउँपालिका र २ नगरपालिका सहित ११ स्थानीय तहको नेतृत्व लिँदै माअाेवादी केन्द्र तेस्रो भएको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा १६ नगरपालिका र २७ गाउँपालिका गरी ४३ स्थानीय तहको नेतृत्व लिँदै कांग्रेस पहिलो भएको छ । यो प्रदेशमा पनि एमाले दोस्रो भएको छ । एमालेले १८ गाउँपालिका र ८ नगरपालिका सहित २६ स्थानीय तहको नेतृत्व लिँदै प्रदेशमा दोस्रो शक्तिका रूपमा स्थापित भएको छ ।

लुम्बीनी प्रदेशमा माओवादी केन्द्रले २२ गाउँपालिका र ३ नगर पालिका गरी २५ स्थानीय तहको नेतृत्व लिँदै तेस्रो भएको छ भने जसपाले एक स्थानमा जित हासिल गरेको छ ।

कर्णाली प्रदेश

कर्णालीमा ३२ स्थानीय तहको नेतृत्व लिँदै काँग्रेस नै पहिलो भएको छ । कांग्रेस २० गाउँपालिका र १२ नगरपालिकामा विजयी भएको छ । कर्णालीमा भने माओवादी दोस्रो शक्तिका रूपमा स्थापित भएको छ । माओवादीले १८ गाउँपालिका र ५ जगर पालिका गरी २३ स्थानीय तहमा कर्णालीमा आफ्नो प्रभाव देखाउन सकेको छ ।

अन्य प्रदेशमा दोस्रो शक्तिका रूपमा रहेको एमाले कर्णालीमा तेस्रो भएको छ । ८ गाउँपालिका र ६ नगरपालिका सहित एमाले कर्णालीमा १४ स्थानमा विजयी भएको छ । कर्णालीमा २ गाउँपालिकामा नेकपा एसको उपस्थिति रहेको छ भने ३ गाउँपालिका र २ नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा पनि कांग्रेस पहिलो पार्टी भएको छ । २२ गाउँपालिका र १४ नगरपालिका गरी ३६ स्थानीय तहको नेतृत्व आफ्नो पक्षमा लिँदै कांग्रेस पहिलो भएको हो । सुदूरपश्चिम प्रदेशमा एमालेले १४ गाउँपालिका र ७ नगरपालिका गरी २१ स्थानमा विजयी हुँदै दोस्रो भएको छ भने माओवादी केन्द्रले ११ गाउँपालिका र ३ नगर पालिका सहित १४ स्थानमा जितेको छ । यो प्रदेशमा नेकपा एसले एक एक गाउँपालिका र नगरपालिका आफ्नो पक्षमा लिन सफल भएको छ ।

  • ७ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech