३१ जेष्ठ २०८२, शुक्रबार

हालसम्म ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक, ३५ को गणना जारी
  • न्युज मानसराेवर

बाँके\ देशभरका ७५३ पालिकामध्ये साँझ ८ बजेसम्ममा ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। हाल दुई पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३५ पालिकाको गणना जारी छ।  हालसम्म छ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ। काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाको गणना जारी छ।

उपमहानगरपालिकामध्ये धरान, धनगढी, इटहरी, हेटौँडा, बुटवाल, नेपालगञ्ज र कलैयाको अन्तिम परिणाम आइसकेको छ। उपमहानगरपलिकामा हालसम्म धरान, धनगढी, इटहरी, हेटौँडा, बुटवाल, नेपालगञ्ज, घोराही र कलैया गरी सात वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ। अझै जीतपुर सिमरा, तुलसीपुर र जनकपुरको गणना जारी छ।

तनहुँको व्यास नगरपालिका, पाल्पाको रम्भा गाउँपालिकालगाायत विभिन्न नगरपालिकामा पनि गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले जेठ १० गतेभित्र सबै पालिकामा गणना सकाउन आग्रह गरेको छ। हालसम्मको गतिका आधारमा काठमाडौँ, ललितपुर महानगरपालिकालगायत गणना समयमा नसकिने देखिएको छ।

काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)की सुनिता डङ्गोलको अग्रता छ। साहले ४० हजार ५१ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ४८४ रहेको छ। उपप्रमुखमा डङ्गोलको ३९ हजार ८१६ र उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठको १३ हजार ८९५ मत रहेको छ।

ललितपुर महानगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा एमालेकी मञ्जली शाक्यको अग्रता रहेको छ। कांग्रेसका उम्मेदवार महर्जनले ३५ हजार ३७४ र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८ हजार ८८६ मत पाउनुभएको छ।

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८ हजार ३०९ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाउनुभएको छ।  बाजुराको बूढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा भएको मतदानमा विवाद भएपछि हाल मतगणना स्थगित भएको छ। यी ठाउँमा मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने अन्योल छ।

दुवै ठाउँमा निर्णय हुन बाँकी रहेको आयोगले जनाएको छ। कूल ३५ हजार २२१ पदमा हालसम्म ३३ हजार ८५८ निर्वाचित भएको आयोगले जनाएको छ। निर्वाचन सकिएको नौ दिन बितिसकेको छ।

  • ८ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech