४ बैशाख २०८१, मंगलवार

बाँकेका ८१ वडामध्ये २ वडामा मात्रै महिला नेतृत्व
  • न्युज मानसराेवर

बाँके\ बाँकेको स्थानीय तहका वडाध्यक्षहरुमा महिला सहभागिता न्यून देखिएको छ । यहाँका ८ स्थानीय तहका ८१ वडामध्ये दुई वटा वडामा मात्रै महिला वडाध्यक्ष बन्ने अवसर पाएका छन् ।नेपालगन्ज उपमहानगरपालिकामा रहेका २३ वडाका अध्यक्षमा महिला सहभागिता शून्य छ । सत्तारुढ गठबन्धन र नेकपा (एमाले) ले महिलाहरुलाई वडाध्यक्षका रुपमा उम्मेदवार नबनाएपछि वडाको निर्णय तहमा महिला सहभागिता हुन नसकेको हो ।तर, कोहलपुर नगरपालिकाको वडा नं ११ मा एमालेको तर्फबाट उम्मेदवारी दिएकी कल्पना अधिकारी र वडा नं १० मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी गौरा प्रसाई वडाध्यक्ष बन्न सफल भएका छन् ।

‘पार्टीले विश्वास गरेर उम्मेदवार बनाएपछि वडाध्यक्षको नेतृत्व जनताले दिएका छन् । महिलाहरुको अधिकारलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने छु,’ नवनिर्वाचित वडाध्यक्ष अधिकारी भन्छिन् ।

नेपालगन्जसँग जोडिएको जानकी गाउँपालिकाको ६ वडा, कोहलपुरसँग जोडिएको बैजनाथ गाउँपालिकाको ८, खजुरा गाउँपालिकाको ८ वडा, डुडुवा गाउँपालिकाको ६, नरैनापुर गाउँपालिकाको ६ र राप्ती सोनारीको ९ वडामा पुरुषको नेतृत्व आएको छ ।

२०७४ को निर्वाचनमा बाँकेको ८१ वडामा वडाध्यक्षमा महिलाको सहभागिता शून्य थियो । नेपाली कांग्रेसकी नेतृ तथा नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापा मगरले महिलालाई राजनीतिमा अवसर नदिँदा वडाको नेतृत्वबाट बञ्चित हुनु परेको प्रतिक्रिया दिइन् । तर महिलाहरुलाई अवसर दिएको खण्डमा वडा मात्रै नभएर पालिकाको प्रमुख भएर काम गर्नसक्ने क्षमता रहेको उनको भनाइ छ।

राजनीति शास्त्रका प्राध्यापक डा. जर्नादन शर्मा आचार्य भने प्रमुख राजनीतिक दलहरुले महिला समावेसीको मुद्दा जति नै उठाए पनि व्यवहारमा कार्यान्वयन नभएको बताउँछन् । ‘पदका लागि पुरुष नेताहरुबीच प्रतिस्पर्धा छ । महिलाले कहाँबाट अवसर पाउने ?,’ उनले प्रश्न गरे।

  • १२ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech