बाँके\मुस्ताङमा आइतबार भएको जहाज दुर्घटनाको अनुसन्धान गर्न सरकारले जाँच आयोग गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वरिष्ठ एरोनटिकल इञ्जिनियर रतिशचन्द्रलाल सुमन इन्चार्ज रहने गरी ५ सदस्यीय आयोग गठन गरिएको हो।
आयोगका सदस्यहरूमा क्याप्टेन दीपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ र वरिष्ठ मौसमविद् मणिरत्न शाक्य रहेका छन्। सदस्य सचिवमा भने सहसचिव बुद्धिसागर लामिछाने छन्।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एन–एईटी कलसाइनको ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको थियो।
जहाजमा १३ जना नेपाली यात्रु, ६ जना विदेशी र ३ जना चालक दलसहित २२ जना सवार थिए। उनीहरु सबैको मृत्यु भएको छ।