१५ चैत्र २०८०, बिहीबार

प्रसिद्ध भारतीय गायक केकेको निधन
  • न्युज मानसराेवर

बाँके\ प्रसिद्ध भारतीय गायक कृष्णकुमार कुन्नाथ को ५३ वर्षको उमेरमा निधन भएको छ। केकेको नामबाट परिचित उनको कोलकातामा हृदयाघातका कारण निधन भएको हो।

कोलकाताको नजरुल मञ्चमा एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा गायक केकेको स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि उनी होटेल फर्किएका थिए। त्यहाँ उनी खसेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। उनलाई राति करिब साढे १० बजे कलकत्ता मेडिकल रिसर्च इन्स्टीट्युटमा लगिएको थियो। त्यहाँ पुगाउने बित्तिकै डाक्टरले उनलाई मृत घोषित गरिदिएका थिए।

अस्पताल पुगेका राज्य मन्त्री अरूप विश्वासले पत्रकार केकेको मृत्युबारे पुष्टि गरेका छन्। उनले केकेको मृत्युको कारण हृदयाघात भएको डाक्टरले बताएको जानकारी दिएका छन्।

तमिल, तेलुगु,  कन्नड, मलयालम, मराठी र गुजराती फिल्ममा उनले थुप्रै गीतमा स्वर भरेका छन्। उनी गुरुदास कलेजको एक कार्यक्रममा सहभागी हुन कोलकाता आएका थिए।

केकेले ‘हम दिल दे चुके सनम’ मा गाएको ‘तडप तडप के इस दिल से’, ‘‌ओम शान्ति ओम’ मा गाएको ‘आँखो मे तेरी’ जस्ता गीतलाई श्रोताले निकै मन पराएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केकेको निधनप्रति दु:ख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा केकेको अचानक निधन भएको खबरले आफूलाई दुखी तुल्याएको बताए। ‘गायक कृष्णकुमार कुन्नथ जसलाई मानिसले केकेको नामले चिन्थे। उनको अचानक भएको मृत्युको खबरले दुखी छु। उनका गीतमा फिन्नाभिन्नै भाव देख्न सकिन्थ्यो। उनका गीतले प्रत्येक उमेर समूहका मानिसको मन छुन्थ्यो। उनलाई गीतको माध्यमबाट सम्झिरहने छौं। उनीप्रति मेरो संवेदना,’ उनले लेखेका छन्।

  • १८ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech