११ बैशाख २०८१, मंगलवार

वातावरण पत्रकारिता पुरस्कारबाट केसी पुरस्कृत
  • न्युज मानसराेवर

बुटवल\नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७८ वितरण गरेको छ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, पुरस्कारका संस्थापक नारायण सापकोटाले पत्रकार तेजेन्द्र केसीलाई नगद, प्रमाणपत्रले पुरस्कृत गरेका हुन्।

महासंघले वातावरण दिवसका दिन प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ। पत्रकार केसी नगद २५ हजार, प्रमाणपत्रले सम्मानित भएका हुन्। पत्रकार केसी दैनिक पत्र दैनिक, रातोपाटीको लुम्बिनी प्रदेश प्रमुख हुन्। केसी १५ वर्षदेखि बुटवललाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील छन्।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले अहिले वातावरणीय समस्याका लक्षणहरु देखिन थालेको बताए। मानव जातिले वातावरणबाट धेरै कुराहरु लिने गरेको बताउँदै जोगाउन पहल नगर्दा समस्या देखिएको उनको भनाइ छ। सञ्चारमन्त्री शर्माले पत्रकारका लागि सञ्चार विधेयक ल्याएको बताउँदै यो विधेयक पास भएमा पत्रकार र सञ्चारमाध्यमलाई फाइदा पुग्ने बताए। कानुनको अभावमा अन्य कामहरु गर्न नपाएको उनले बताए।

बजेट निर्माणको चरणमा रहेको बताउँदै सञ्चार माध्यमलाई ध्यानमा राखेर लुम्बिनी प्रदेश सरकारले बजेट ल्याउने मन्त्री शर्माले प्रतिबद्धता जनाए। कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. बालकृष्ण चापागाईंले वातावरणलाई जोगाउन ध्यान दिन आवश्यक रहेको बताए उनले वातावरणका विषय पत्रकारिताको ५० प्रतिशत बिट भएको बताए। नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार विनोद पहाडीले अहिले वातावरणीय संकट आउन थालेको बताए। उनले युवा पुस्तामा वातावरणका क्षेत्रमा लेखन कम भएको बताउँदै पुरस्कारले यस क्षेत्रमा लेखाइमा अभिप्रेरित गर्ने बताए।

पत्रकारिता पुरस्कारका संस्थापक एवं अग्रज पत्रकार नारायण सापकोटाले वातावरण जोगाउने कर्तव्य सबैको रहेको बताउँदै पत्रकारको माध्यमबाट छिटो प्रभाव पर्ने भएकोले पुरस्कार स्थापना गरेको बताए। उनले रुपन्देहीमा वातावरणीय स्रोत धेरै भएकोले यसको संरक्षण गर्नको लागि प्रयास धेरै गर्न सहज होस् भन्ने उद्देश्यले पुरस्कार वितरण शुरु गरेको बताए।

अहिलेसम्म २५ जना पत्रकार पुरस्कृत भएको स्मरण गरे। उनले वातावरण संंकटमा रहेको उल्लेख गर्दै यसको बचाउमा समाचार लेख्न पत्रकारहरुलाई आग्रह गरे। नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एवं सल्लाहकार यानेन्द्र जिसीले वातावरण जोगाउनको लागि सबैले ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले वातावरणको क्षेत्रमा पत्रकारको रुचि बढाउनको लागि पुरस्कार प्रदान गरिएको बताए।

  • २२ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech