नेपालको दक्षिणमा रहेको भारत र उत्तरमा रहेको चीन जनसंख्या र भूभागको गणितमा दुवै अत्यन्त ठूला मुलुक हुन्, दुवै करीब डेढ अर्ब जनसंख्याका धनी । चीन संसारको दोस्रो ठूलो धनी देश हो, भारतले पनि चीनलाई पछ्याइरहेको छ । चीनमा गरीबीको संख्या न्यून रहेको छ भने भारतमा नेपालकै हाराहारीमा । भूगोलको हिसाबले नेपालको सामीप्य चीनसँग भन्दा भारतसँग बढी छ, वेशभूषा, सांस्कृतिक, भाषिक अनि खुला सिमानाले आवतजावतको सहजता छ । परापूर्वकालदेखि नेपालीहरूको रोजीरोटीको थलो भारत रहँदै आएको छ । यो प्रक्रिया दोहोरो नै छ । भारतीयहरूको पनि रोजीरोटीको थलो नेपाल रहेको छ । फरक यति हो, नेपालीहरू घरमा काम गर्ने कान्छा, घरको होस् वा व्यापारिक पेशाको वा उद्योग व्यवसायमा रहेको ढोकामा बस्ने दर्बान वा बहादुर आदि कार्यमा संलग्न छन् ।
भारतीयहरू चाहिँ कपडा वा फलफूल र तरकारी व्यापारी, कपाल काट्ने हजाम, इँटा बनाउने शीपयुक्त मानिस, उद्योगमा काम गर्नेदेखि लिएर उद्यमीसम्म छन् । भारतबाट आयात भएको वस्तुको व्यापार भारतीयहरूले नै गरेको कुरा नौलो नहोला । चीनबाट आयातित वस्तुको व्यापार पनि भारतीय व्यापारीहरूले नै गरिरहेका छन् । सवारीका साधनहरू भारतबाट आयात हुन्छन् ।
तिनीहरूको मर्मत, सम्भार, आदि कार्य भारतीयले नै गर्छन् । नेपालमा कबाडीका सामानको बढी खपत हुन्छ । भारतीय उद्यमीले नेपालका विभिन्न शहरमा कबाडीका सामानको व्यापार गर्ने स्थान बनाउँछन् । सयौ भारतीय नेपालीका घरघरमा कबाडीका सामान संकलन गर्न जान्छन् । ती संकलित सामान पुन: नेपालीहरूलाई नै विक्री गरिन्छ । भारतबाट आयात भएको वस्तुको व्यापार उक्त वस्तुको अवशेषसम्म पटकपटक भारतीयहरूले नै गरेका हुन्छन् ।नेपालीहरूलाई आफ्नो काम आफै गर्न लाज लाग्छ । आफूले खाना खाएको थाल आफैले माझ्दा बेइज्जत हुन्छ । अलिकति आर्थिक रूपले सम्पन्न हुनासाथ नोकरचाकर राख्न खोज्ने प्रवृत्ति छ ।
नेपालीहरूलाई नाच्नका लागि अरूले मादल बजाइदिनुपर्छ । खाद्यान्नको कुरा परै छाडौंै । माछामासु, तरकारी, फलफूल, र फूलका थुँगाहरू भारतीयहरूले ठेलागाडामा राखेर घरघरमा लगेर विक्री गरिरहेका हुन्छन् । उनीहरूले घरघरमा लगेर व्यापार गरेको वस्तु सबै भारतबाट आयातित हुन् । नेपालमा उत्पादन नै हुँदैन । यदि हुन्छ भने पनि मागअनुसार आपूर्ति हुने गरेको छैन ।
नेपालीहरू आफ्नो घरमा अत्यावश्यक वस्तुको न उत्पादन गर्छन् न अन्यत्रबाट आयात गरिएको वस्तुको आफैले व्यापार गर्छन् । सबैथोकमा परनिर्भरता छ । हिमाल, पहाड र मधेशमा माछामासुको उत्पादन गर्न सकिन्छ । तर, नेपालमा माछामासुको उपभोग आयातबाट गरिन्छ । आर्थिक वर्ष सन् २०१९/२० मा नेपालले ३ अर्ब रुपैयाँको माछामासु आयात गरेको आँकडाले देखाउँछ । प्रतिदिन करीब ६ करोड रुपैयाँ बराबरको तरकारी नेपालमा आयात भइरहेको छ । यसले के प्रमाणित गर्छ भने नेपालीहरूको भान्सामा प्रतिदिन करीब ६ करोड रुपैयाँ बराबरको तरकारी खपत हुँदो रहेछ ।
सन् २०१९ मा १९ करोड अमेरिकी डलर बराबरको फलफूल आयात भएको थियो । गलामा फूलका मालाहरू थोपरिएका हुन्छन् । नेपालका पाखाहरूमा माला बुन्ने फूल फुल्दैन । फूललगायत धागो पनि आयात गरिएको हुन्छ । अनि गर्व गर्छौं सय किलोको फूलको मालाको । उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष सन् २०२०/२१ मा नेपालले ३८ करोड रुपैयाँ बराबरको फूल आयात गरेको थियो ।
नेपालको खेतबारी सबै भारतसँग जोडिएका छन् । भारतसँग जोडिएर रहेका नेपालका खेतीयोग्य फाँटहरू भारतीय भूमिमा जोडिएर रहेका फाँटहरूभन्दा कम उर्वर छन् त ? अन्यथा भारतीय भूमिमा उत्पादन हुने तरकारी, फलफूल र विभिन्न प्रकारका फूल नेपाली भूमिमा पनि उत्पादन हुन सक्नुपर्ने हो । काश्मिरमा उत्पादन हुने स्याउ सोलुखुम्बुमा उत्पादन हुन सक्छ । भारतीय भूमिमा उम्रने फूलका बोटहरू नेपाली भूमिमा पनि उम्रन सक्छ । फरक यति हो, भारतमा प्रत्येक वस्तुको उत्पादनका लागि प्रोत्साहन, मलखाद, सिँचाइको सुविधा, पर्याप्त मात्रामा सरकारी अनुदान र विनाधितोका साथै निर्ब्याजी ऋणको व्यवस्था सबै सरकारले गरेको हुन्छ । दिइएको वातावरणमा किसानहरूले आफ्ना पाखुरीहरूको प्रयोग गरी वस्तु उत्पादन गर्छन् ।
विदेशमा उत्पादन भएको वस्तु नेपालमा आयात गरी उपभोग गरिन्छ । नेपालमा तरकारी, फलफूल र फूलहरूको उत्पादन गरी निर्यात गर्न सके अझ राम्रो नसके कम्तीमा आफ्नो उत्पादनले आफैलाई उपभोग गर्न पुग्ने बनाउनुपर्छ । सरकारी तथा गैरसरकारी संस्थाहरूले यसतर्फ ध्यान दिन आवश्यक मात्र होइन, अत्यावश्यक भइसकेको छ । विदेशमा पाएको रोजगारीबाट प्राप्त ज्यालाको सदुपयोग यी क्षेत्रको विकासमा लगाउनाले देश आत्मनिर्भर हुनेतर्फ कदम चाल्न सक्छ ।
विश्वव्यापीकरणको आजको समयमा मानवशक्तिको निर्यात गर्नुपर्छ र यसले निरन्तरता पाइरहेको पनि छ । तर, मुलुकका विकास कार्यमा आवश्यक हुने मानवशक्ति अन्य देशबाट आयात गर्नु हुँदैन । आफूसँग रहेको अन्यत्र पठाउने र आफूलाई आवश्यकता हुँदा अन्यत्रबाट ल्याउने, यो प्रक्रियाले परनिर्भरतालाई प्रोत्साहन गर्छ । आत्मनिर्भरताको बाटोको कुरै छोडौं यसको गोरेटो पनि मेटिन सक्छ ।
प्रत्येक पलपलमा सुनिन्छ, नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर गराउनुपर्छ । कृषि विकासका निमित्त सरकारी बजेट पनि बाँडफाँट गरिएको हुन्छ । कृषि विशेषज्ञको उत्पादन गर्न कृषि विश्वविद्यालय पनि छ । यसबाट उत्पादन भएका युवायुवती यदि नेपालमा हुँदा हुन् त बेरोजगार भएर बस्नुपथ्र्यो होला । नेपाल यस्तो कृषि प्रधान देश हो जहाँ कृषि विशेषज्ञले काम पाउँदैन ।
माथि उल्लेख भएका कृषि वस्तुको उत्पादन नेपालभित्रै गर्न सकिन्छ । उत्पादन गर्ने कृषक हुन् । कृषिको व्यवसायीकरणका निमित्त उनीहरूलाई आवश्यक हुने मलखाद, बीउबिजन, सिँचाइ, समर्थन मूल्य, गोदाम घर, सरकारी अनुदान, निर्ब्याजी ऋण आदि व्यवस्था गर्न जरुरी छ । नेपालका खेतीयोग्य जमीन टुक्राटुक्रामा विभाजित छ । साना र मझौला किसानको बाहुल्य छ । टुक्राटुक्रा जमीनमा लगाइएको कृषि उपजले व्यवसायीकरणको कल्पनासम्म पनि गर्न सकिँदैन, जीविकोपार्जन पनि हुँदैन ।
यसका निमित्त सामूहिक खेतीको विकास गराउन जरुरी छ । सामूहिक खेतीको विकासका निमित्त सरकारी वा गैरसरकारी निकायले किसानहरूको जग्गा लीजमा लिनुपर्छ । साथै कृषि उद्यमीको विकास गर्नुपर्छ । उद्यमीलाई श्रमशक्तिको आवश्यकता पर्छ । कृषि व्यवसायीकरणका निमित्त स्थानीय किसान जसजसको जग्गा जमीन लीजमा लिइएको छ उनीहरूलाई रोजगारी दिनुपर्छ ।
यसबाट उनीहरूको जीविकोपार्जन एकातिर हुन्छ भने अर्कोतिर उनीहरूलाई निश्चित नाफाको साझेदारी बनाउन सकिन्छ । उत्पादित वस्तुको व्यापार तीनै किसानबाट गराउनुपर्छ । यो प्रक्रियाले कृषि व्यावसायिक हुनुका साथै रोजगारीमा वृद्धि भई साना तथा मझौला किसानको जीवनस्तरमा वृद्धि भई विदेशी कामदार पनि प्रतिस्थापित हुन थाल्छन् । लेखक अर्थशास्त्री हुन् ।