बुटवल\लुम्बिनी प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउदै छ । माओवादी नेतृत्वको मिलिजुली गठबन्धन सरकारले अपराह्न ४ बजे प्रदेशसभामा बजेट सार्वजनिक गर्नेछ । आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले पाँच वर्षे कार्यकालको अन्तिम बजेट ल्याउने भएका हुन् ।
आर्थिक मन्त्रालय स्रोतका अनुसार अघिल्लो आर्थिक वर्षको हाराहारीमा अर्थात् ४० अर्बकै बजेट ल्याउनेछ । गत वर्ष ४० अर्ब ९० करोडमा बजेट आएको थियो । राजस्व अनुमान गरेभन्दा कम संकलन भएपछि आर्थिक मामिला तथा सहकारी मन्त्रालयले बजेटको आकार घटाउने तयारी गरेको थियो ।
तर, मंसिरमा चुनाव हुने भएकाले मुख्यमन्त्री कुलप्रसाद केसी सहित गठबन्धनका दल र मन्त्रीहरूले समेत योजनाहरूको लामो सूची ल्याएपछि बजेट कटौती गर्न अर्थमन्त्रालय असमर्थ बनेको हो ।
मन्त्रालयको संख्या वृद्धि भएकाले मन्त्रालयगत योजना समेट्दा पनि बजेटको आकार चाहेर पनि घटाउन नसकेको अर्थमन्त्रालयका अधिकारीले बताएका छन् । प्रदेश गौरवका आयोजनाहरूलाई निरन्तरता दिँदै केही महत्वाकाक्षी योजनालाई समेटेर बजेट ल्याउने तयारी सरकारले गरेको छ ।
आर्थिक मामिला तथा सहकारी मन्त्रालयका उपसचिव रामबहादुर कार्कीले ४० अर्बकै हाराहारीमा बजेट आउने बताए । उनका अनुसार बजेटले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
सरकारले २५ जेठमा ल्याएको नीति तथा कार्यक्रममा अधिकांश यसअघिकै सरकारले ल्याएको कार्यक्रमलाई निरन्तरता दिएकाले बजेट पनि त्यसमै केन्द्रित हुने धेरैले आंकलन गरिएको छ । योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले यसअघि आउने बजेटभन्दा अहिले आउने सबै प्रक्रियागत रहने दाबी गरे ।