महँगीको शिकार बनेका आम नेपाली जनता सामान्य वस्तु तथा सुविधाका लागि उच्च मूल्य तिर्न बाध्य छन् । डलरको मूल्य इतिहासकै सबैभन्दा महँगो भइरहेको समयमा महँगी अभैm बढ्ने सहज अपेक्षा गर्न सकिन्छ । कम आय, बेरोजगारी अनि उच्च महँगीले नेपालीलाई कतै न कतैबाट विदेशिन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बाध्य बनाएको छ । त्यसबाहेक नेपालीहरू अहिले अर्को समस्या भोग्न बाध्य छन् : उपभोग्य वस्तुको अशुद्धता ।
जनताले उपभोग गर्ने तरकारी र फलफूल उत्पादन गर्ने ठाउँमा विषादीको मात्रा उच्च भएको तथ्य बेलाबखत समाचारमा आउने गरेको छ । विकसित देशहरूले ५० वर्ष अगाडि प्रयोग गरेका कीटनाशक औषधि यति बेला नेपाल र भारतमा प्रयोग भइरहेको छ । २०७१ सालमा नेपालमा पहिलोपटक तरकारीमा विषादी परीक्षण गरिएको थियो जहाँ आयायित तरकारीमध्ये ४ प्रतिशत खानै नहुने विषादी प्रयोग भएको भेटिएको थियो । हामीले खाने तेलमा स्याचुरेटेड र ट्रान्स फ्याट उच्च रहेको भेटिन्छ । विकसित देशहरूमा प्रतिबन्ध लगाइएको ट्रान्स फ्याट भएका तेलहरू नेपालमा सहज उपलब्ध हुन्छ ।
बिहान उठ्दा खाइने तरकारी, पोलिस गरिएको दालदेखि दिउँसो खाजामा मिसिने सोडा, मोनोसोडियम ग्लुमेट (एमएसजी) ले पुष्टि गर्छ हामी कस्तो खाना खाइरहेका छौं । नेपाली उपभोग्य वस्तुको तुलना गर्दा यहाँ शुद्धता शायदै भेटिँदैन । नाफा वृद्धिको निमित्त व्यापारीहरू लोभी बन्दा अस्वस्थ उत्पादनले प्रमुख स्थान लिइरहेको छ । फलफूल तथा तरकारी बढी उत्पादनको निमित्त विषादी प्रयोग गर्नेदेखि लिएर, अन्य वस्तु मिश्रण गरेर बढी नाफा कमाउने हेतुका साथ यस प्रकारको अशुद्धताको काम हुने गरेको छ । गुणस्तरअनुरूपको मापदण्ड पूरा भएको छ कि छैन भनेर विश्वस्त भएर हेर्ने निकायको अभाव छ । गुणस्तर तथा नापतौल विभागको फितलो उपस्थितिले उपभोग्य वस्तुको निगरानी फितलो भएको पुष्टि हुन्छ ।
चाडबाडको समयमा सलबलाउने यी निकाय अन्य समयमा आफ्नो उपस्थिति दर्शाउनसमेत कठिन मानिरहेको भेटिन्छ । मूलतः काठमाडौंलगायत शहरमा प्रदान गरिएका वस्तु गुणस्तरयुक्त छन् या छैन भनेर नियाल्न सक्ने कुनै बलियो निकाय नै छैन भन्दा हुन्छ । गुणस्तरहीन भेटिएको खण्डमा तत्काल शिल लगाउन सक्ने क्षमता बोकेको संयन्त्र आवश्यक हुन्छ । तर, चाहे मिति नाघिसकेको वस्तु बेचून् वा अखाद्य वस्तुको मिश्रण गरून् अनुगमन गर्ने कोही नहुँदा विक्रेताले मनमौजी गर्न पाएका छन् । नियम त छ तर पालना भएको छ या छैन हेर्ने र नभएको खण्डमा हुने दण्डको अभावले अशुद्धता यहाँ सामान्य बन्दै गएको हो ।
कतिपय वस्तुमा विभिन्न क्षेत्रको एकाधिकार रही आएको छ, जसले गर्दा उनीहरूले एकलौटी मनोमानी गरिरहेको भेटिन्छ । नुनलाई उदाहरणका रूपमा लिन सकिन्छ । अन्य वस्तुमा न्यून मूल्यमा उपलब्ध गराउने अस्वस्थ प्रतिस्पर्धा भएर होस् या पहुँच उपलब्ध गराउन होस् अखाद्य तत्त्वको मिश्रण आफूलाई बजारमा माथि पुर्याउने सारथिको रूपमा लिने गरेको पाइन्छ । जनता पूर्ण सचेत नहुँदा र कानूनी उपचार निकै झन्झटिलो र खर्चिलोसमेत हुँदा व्यापारीका मनोमानीविरुद्ध कोही पनि कानूनी उपचारमा लागेको पाइँदैन । स्वास्थ्यप्रति चेतना नभएकाहरू स्वादको निमित्त विषादीयुक्त खाद्य वस्तु सेवन गरिरहेको पाइन्छ । उनीहरूलाई स्वाद त्यति प्यारो हुन्छ, जसले गर्दा उनीहरू त्यसले आफ्नो शरीरलाई फाइदा गरिरहेको छ या छैनसम्म तुलना गर्न भ्याउँदैनन् । गहुँको चाउचाउ मैदाको तुलनामा स्वस्थ हुन्छ भनेर उत्पादन नगरिएको होइन, तर ग्राहकलाई मैदाकै चाहियो र उक्त उत्पादन बन्द गर्नु परेको थियो ।
मिश्रण भए पनि सेवन गर्नैपर्ने बाध्यतामा बाँधिएका हुन्छन् । उनीहरूलाई यो हानिकारक छ भन्ने थाहा भए तापनि विकल्प नहुँदा सोही वस्तु सेवन गर्नैपर्ने हुन्छ, गरीबी, निम्न आय वा सीमित आय भएका कारण । नेपालमा उपलब्ध हुने खाना पकाउने तेल शुद्ध छैन भन्ने थाहा पाए पनि उनीहरूसँग विकल्प हुँदैन । उनीहरूलाई ज्ञान छ, उनीहरूले किनेको तरकारी तथा फलफूल रसायनयुक्त छ तर विकल्प नहुँदा खानुको विकल्प देखिँदैन । आफै उब्जनी गर्ने स्रोतसाधन हुँदैन । समय पनि हुँदैन । तरकारी र र फलफूल किन्नैपर्छ जुन रसायन र विषादीयुक्त हुन्छ ।
भारतमा म्यागीको उत्पादन रोक्कासम्म भयो । हाम्रोमा गुणस्तरहीन भनेर आरोप लगाइन्छ तर केही समयमै उक्त घटना लुक्छ । यसको शिकार सर्वसाधारण हुन्छन् । हामी अहिले शुद्धताको नाममा केही पनि नपाउने अवस्थामा छौं । यहाँ न इन्धन शुद्ध पाइन्छ न सुन≤ मिसावट छ सबैतिर । हिजोको समयमा जुन गुणस्तर सवारीसाधनको इन्जिनमा थियो, त्यो आज भेटिँदैन । यहाँ न हावा शुद्ध छ, न पानी ।
हामीले लगाउने भनिएको ब्रान्डेड वस्तु पनि नामको मात्र ब्रान्डेड भएको भेटिन्छ । नक्कली उत्पादनको राज्य छ, बजारमा । शायद अब हाम्रो शरीरले पनि अस्वस्थ खानपिन पचाउन सक्ने भइसकेको हुनुपर्छ । अन्यथा नेपालीको औसत आयु ७० हुने थिएन । विषय अशुद्धतामा रमाउने हो, यसैलाई बानी बसाउने हो या शुद्धतातर्फ उन्मुख हुने भन्ने हो ।
यहाँ शुद्धताको कुनै मोल छैन किनभने शुद्धता एउटा कृत्रिम वस्तु हुन थालिसकेको छ । दुई गुणा बढी रकम तिरेर पनि गुणस्तरयुक्त वस्तु तथा सेवा पाउन छोडिसकेको अवस्था छ । गुणस्तर काल्पनिक विषय हुँदै गएको देखिन्छ । एक दृष्टिबाट हेर्दा गुणस्तर चक्रीय रूपमा फेरि पलायन त हुन्छ नै । जब गुणस्तरहीन वस्तुको असर बढ्दै जान्छ नयाँ गुणस्तरयुक्त वस्तु र सेवाले स्थान त पाउँछ नै । तर, उक्त चक्रीय समयलाई पर्खनु यस समयमा शायद मूर्खता नै हुन जान्छ । समयमै गुणस्तरलाई प्राथमिकता नदिने हो भने भोलि गएर हाम्रो समग्र जीवनशैलीमै प्रभाव पार्ने निश्चित छ । रेग्मी बैंकर हुन् ।