६ पुष २०८१, शनिबार

‘यहाँ मल छैन, भारतबाट ल्याउन दिँदैनन्’ किसानको गुनासो
  • न्युज मानसराेवर

बाँके\धानको बीउ तयार भइसक्यो । किसानहरु महँगो मूल्य तिरेर भएपनि ट्याक्टर लगाएर खेत जोतिसके । यतिबेला किसानहरु रोपाइँका लागि आवश्यक पर्ने युरिया मलको खोजीमा छन् ।सहकारीमा जति नै धाउँदा पनि मल भने नपाएको उनीहरु सुनाउँछन् । त्यसको विकल्पमा सीमावर्ती किसानहरु भारतीय बजारमा मल किन्न पुगिरहेका छन् । तर, भारतबाट मल किनेर ल्याउँदा प्रहरीले अवैध मल ल्याएको भन्दै पक्राउ गर्न थालेपछि उनीहरु मर्कामा परेका छन् । सरकारले मल नदिने र किनेर ल्याएको मल सुरक्षाकर्मीहरुले पक्राउ गरेर भन्सार कार्यालयमा बुझाएपछि उनीहरुको लगानी पनि डुबेको छ ।

दुई दिनअघि नरैनापुर गाउँपालिकाका किसानले भारतबाट किनेर ल्याएको ३३ बोरा युरिया मल सुरक्षाकर्मीहरुले समाएपछि आलोचना बढेको छ । ‘सरकारले मल दिन नसक्ने अनि पारीबाट पनि ल्याउन नदिएर किसानलाई दु:ख दिने ?,’ नरैनापुरका अगुवा युवा विनय दिक्षितको प्रश्न छ, ‘सरकारले मल दिनु पर्‍यो, होइन भने पारीबाट ल्याउन दिनु पर्‍यो ।’

नेपालमा मल नपाएपछि स्थानीय पालिकाहरुले पारी भारतीय बजारबाट मल ल्याउन सिफारिस समेत दिने गरेका छन् । किसानहरुलाई मल ल्याउँदा सुरक्षाकर्मीले दु:ख नदिउन भन्दै वडा कार्यालयले सिफारिस बनाइदिने गरेको हो । तर, सुरक्षाकर्मीहरुले वडाको सिफारिसलाई बेवास्ता गर्दै भारतीय मल पक्राउ गर्दै छन् । नरैनापुर गाउँपालिकामा मल पक्राउ परेको घटना पहिलो भने होइन ।

बाँके र बर्दियाका सीमावर्ती किसानमात्रै होइन मल पाउने आशमा दाङ र कर्णाली प्रदेशबाट पनि आउने गरेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रातका समयमा मल ल्याउन दिएर सहयोग पुर्‍याएको तर नेपाल प्रहरीले दुस्ख दिएको गुनासो नेपाली किसानहरुको छ । ‘सरकारले एक दाना मल दिन सक्दैन । भारतबाट ल्याउँदा पक्राउ गरेर लिलाम गर्छ,’ किसान भुल्लन खाँ भन्छन्,‘नेपालमा मल छैन भनेर भारतका प्रहरीले मल ल्याउन दिन देखेर पनि नदेखेको जस्तो गर्छन् । तर आफ्नै देशकाले पक्राउ गरेर दुस्ख दिन्छन् ।’ मल नदिने र भारतबाट ल्याएको पक्राउ गर्न थालेपछि मलबिनानै रोपाइँ गर्ने अवस्था आएको किसानहरु दुखेसो पोख्छन् ।

कृषि सामाग्री संस्थान कम्पनी लिमिटेड बाँकेका प्रमुख रमेश पौडेलले मलको गोदाम रित्तिएको बताए । ‘गोदाम रित्तो छ । किसान मल लिन दैनिक आएकै छन्,’ उनले भने,‘भारतबाट मल ल्याउने भनिएको पनि कुनै टुंगो छैन । किसानहरु मारमा छन् ।’ उनका अनुसार बाँकेका लागि ३ हजार मेट्रिक टन युरिया, ६ हजार मेट्रिक टन युरिया र १ सय टन पोटास आवश्यक पर्छ । मल बिक्रीका लागि १ सय ९ सहकारी संस्था कृषि समाग्री लिमिटेडमा नवीकरण गराएका छन् । तर, मल अभावमा सहकारीले बिक्री गर्न पाएका छैनन् ।

त्यस्तै बर्दिया जिल्लाका लागि युरिया, पोटास र डिएपी गरी १२ हजार टन आवश्यक पर्छ । कृषि समाग्री लिमिटेडले युरिया प्रतिबोरा ८ सय ४६, डिएपी २ हजार २ सय ९६ र पोटास १ हजार ६ सय ९६ रुपैयाँ बोरा मूल्य तोकेको छ । किसानहरु तोकिएको मूल्यमा नै मल किन्न तयार छन् । तर, मूल्य तिर्न तयार किसानले मल पाउन सकेका छैनन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रातका समयमा मल ल्याउन दिएर सहयोग पुर्‍याएको तर नेपाल प्रहरीले दु:ख दिएको गुनासो किसानहरुको छ । भारत सरकारले आफ्ना किसानलाई उपलब्ध गराएको अनुदानको मल ल्याउन पूर्ण निषेध गरेको छ । किसानहरु मल पाउने आशमा चार बजे बिहानै सीमा पुग्ने गरेका छन् । सीमामै पुगेका किसानले युरिया मल प्रतिबोरा नेपाली एक हजारदेखि १ हजार ५ सय मूल्यसम्ममा किन्न पाउँछन् ।

भारतबाट आएको मल तस्करी गर्ने व्यक्तिहरुलाई प्रहरीले कारबाही गर्नुपर्ने तर्क किसानको छ । तर एक/दुई बोरी मल ल्याउने किसानलाई दु:ख नदिन उनीहरुको आग्रह छ । कृषि समाग्री कम्पनी लिमिटेड बर्दियाका अनुसार हाल युरिया मल शून्य छ । इकान्तिपुर

  • १५ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech