नेपालमा हरेक वर्षको असार १५ गते धान दिवस मनाउने गरिन्छ । दिवस मनाउनुको उद्देश्य रोपाइँको खुशीयाली मनाउनु मात्र नभई धान उत्पादन वृद्धिका लागि नयाँ योजना, नीति र प्रविधिको विकास गर्नु हो । तर, केही वर्षयता नेपालमा धान दिवस मनाउनुको उद्देश्य नयाँ योजना र प्रविधिको विकास गर्नुभन्दा पनि खुशीयाली मनाउनेतिर बढी केन्द्रित देखिन्छ, जुन यस वर्ष पनि देखियो ।
धानबालीको जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ धान दिवस मनाइरहँदा खेतमा रोप्नुपर्ने धानको बेर्ना कैयन्का घाँटीमा माला बने भने गमलामा धान रोप्ने, हिलोमा तानातान गर्ने जस्ता उटपट्याङ पनि देखिए । धान, उत्पादन वृद्धिमा केकस्ता योजना र प्रविधिको आवश्यकता छ भन्नेतिर छलफल भएको देखिएन । किसानले गरेका उत्पादन खरीददेखि मूल्य निर्धारणबारे न नीति बने, न त छलफल नै गरिए ।
यस्ता कुनै पनि योजना नबन्दा यो वर्षको धान दिवस त्यतिकै खेर गयो । सरकारी तथ्यांकलाई विश्वास गर्ने हो भने नेपाल धान उत्पादनमा आत्मनिर्भर भइसकेको छ । त्यसैले सरकारले किसानद्वारा उत्पादित धान खरीद गर्ने व्यवस्था मिलाउँदा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने सम्भावना देखिन्छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार नेपालमा वर्षमा ३४ लाख ३८ हजार ४७४ मेट्रिक टन चामल खपत हुन्छ भने उत्पादन ३७ लाख ७४ हजार ५९७ मेट हुने गरेको छ । सरकारले उत्पादन खरीद गर्ने ग्यारेन्टी गर्नेबित्तिकै बाँझो जमीन खाली रहने सम्भावना हुँदैन । जमीन बाँझो नहुनेबित्तिकै उत्पादन वृद्धि हुन्छ । गाउँगाउँमा सडक पुगेकाले एक ठाउँमा उत्पादन भएको धान अर्को ठाउँमा लैजान सकिन्छ ।
उत्पादन र उत्पादकत्व वृद्धिका लागि बजारको व्यवस्था नगरी धान दिवसको औचित्य छैन । यो दिवस मनाएकै दिन धानको खरीद मूल्य तोकिदिएको भए कृषकहरूलाई उत्पादन बढाउन हौसला मिल्थ्यो । बजारको सुनिश्चितता नभएकाले तथा लागतभन्दा सस्तोमा बेच्नुपर्ने बाध्यताले धेरैले खेती गर्न छाडेको पाइन्छ । आफूले भनेको मूल्यमा कृषि उपज नबिके त्यो सरकारले नै किनिदिने प्रत्याभूति गरिनुपर्छ । त्यसैले भ्रष्टाचाररहित तरीकाले खरीद–विक्री हुने व्यवस्था अहिलेको आवश्यकता हो ।
सरकारले मल र सिँचाइका लागि पनि पर्याप्त काम गरेको पाइँदैन । बालीका लागि अत्यावश्यक समयमा नै रासायनिक मलको अभाव हुने गरेको छ । अनुदान दिनभन्दा समयमा मल उपलब्ध गराउनु ठूलो हो भन्ने कुरा सरकारले सोचेको देखिँदैन । अर्को कुरा कतिपय व्यक्ति रासायनिक मलको विकल्पमा प्रांगारिक मलले काम चलाउन सकिने तर्क गर्छन् । मल बारेको यो बुझाइ गलत छ । उत्पादकत्व वृद्धिका लागि रासायनिक मलको विकल्प प्रांगारिक मल बन्न सक्ने अवस्था अहिले छैन । यदि रासायनिक मल प्रयोग नगर्ने नीति लिइयो भने मुलुक श्रीलंकाको बाटोमा जान सक्छ र खाद्यवस्तुको हाहाकार हुन सक्छ । एकातिर किसानलाई आवश्यक पर्ने जति प्रांगारिक मल उत्पादन हुन गाह्रो छ भने अर्काेतिर यसको गुणस्तर सुनिश्चित गर्ने प्रणाली स्थापित भइसकेको छैन । यस्तोमा नियमित मल आपूर्तिको सुदृढ व्यवस्था आवश्यक हुन्छ । यसका लागि आफ्नै देशमा मल कारखाना खोल्न सकिन्छ । अहिले विद्यत् आपूर्ति नियमित हुन थालेकाले यसको सम्भावना छ ।
कृषि उत्पादन बढाउन सिँचाइ सुविधा बढाउन आवश्यक छ । तर, सिक्टा, रानीजमरा, बबई जस्ता सिँचाइ आयोजनाको प्रगति निकै सुस्त छ । सुनकोशी–मरीन डाइभर्सन त शुरू नै हुन सकेको छैन । धान दिवस मनाइरहँदा सरकारले सिँचाइ सुविधा उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेको नपाइनु विडम्बना हो ।
त्यसैले धान दिवसको सार्थकता त्यति बेला हुन्छ जतिबेला धानको उत्पादन र उत्पादकत्व बढाउने ठोस कार्ययोजना बनाइन्छ र लागू हुन्छ । तथ्य तथ्यांकमा आधारित रहेर कृषि उत्पादनको व्यवस्थापन नगरेसम्म यस्तो दिवस सार्वजनिक खपतको विषयमात्रै हुनेछ । अहिले धान दिवस मनाउँदै गर्दा उत्पादन खरीद गर्ने ग्यारेन्टी त हुन सकेन । तर, अब गहुँ, तोरी तथा दलहन बाली लगाउने बेला खरीदको ग्यारेन्टी गर्ने व्यवस्था मिलाउन सरकार चुक्नु हुँदैन ।