काठमाडौँ\ द्वन्द्वकालमा घाइते भएका पूर्वजनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपानेको निधन भएको छ। द्वन्द्वकालमा तत्कालीन सत्तापक्षसँगको लडाइँका क्रममा घाइते भएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंका सडक पेटीमै निधन भएको हो।
उपचार खर्चका लागि कुनै पक्षबाट पनि वास्ता नभएपछि परिवारकै पहलमा उनलाई काठमाडौं ल्याइएको थियो। तर खर्चको जोहो गर्न नसक्दा सडक पेटीमा नै ज्यान गुमानउनु परेको परिवारले जनाएको छ।
उपचारका लागि श्रीमतीसहित भैंसेपाटीमा बस्दै आएका सेवकको शरीरमा गोली र छर्रा रहेको थियो। लामो समयसम्म उपचार गराउँदा समेत उनलाई सन्चो हुन सकेको थिएन।
सरकार पक्ष र उनी संलग्न रहेको माओवादी पार्टीबाट समेत उपचारमा सहयोग नपाइएको उनको परिवारको गुनासो छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पुत्र प्रकाश दाहालको सालिक अनावरण गरेको केही घण्टामा नै पूर्व लडाकुले उपचार नपाउँदा ज्यान गुमाउनु परेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
सेवक तत्कालीन जनमुक्ति सेनाको सदस्य हुँदै सेक्सन कमाण्ड समेत भएका थिए। उनले पश्चिम नेपालमा तत्कालीन नेपाल प्रहरी र शाही नेपाली सेनासँग भएका धेरै युद्ध लडेका थिए। उनी तीनै युद्धमा सोही क्रममा घाइते भएका थिए। अनमिनको प्रमाणीकरणको क्रममा अयोग्य भनेर उनलाई शिविरबाट बिदाई गरिएको थियो।