८ बैशाख २०८२, सोमबार

महँगीको असर भान्सामा
  • न्युज मानसराेवर

काठमाडौँ\ताजा तरकारीका लागि सर्वसाधारणले पोहोरको तुलनामा यसपालि साढे ३ सय प्रतिशतसम्म बढी तिर्नुपरेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार पोहोरको तुलनामा केही ताजा तरकारीको मूल्य ३ सय ४४ प्रतिशतसम्म बढी छ । काँक्रो, गोलभेडा, चिचिण्डो, भिण्डीजस्ता मौसमी तरकारी र फलफूलको मूल्य उच्च दरले बढेको समितिले जानकारी दिएको छ ।

समितिका अनुसार गतवर्षको असार २० गते २७ रुपैयाँ किलो रहेको लोकल काँक्रोको मूल्य अहिले १ सय २० रुपैयाँ पुगेको छ । यो मूल्यवृद्धि पोहोरको तुलनामा ३ सय ४४ प्रतिशत हो । भारतीय गोलभेंडाको मूल्य ७६ प्रतिशतले बढेको छ ।

पोहोर ६५ रुपैयाँ किलो रहेको भारतीय गोलभेंडालाई यसपालि उपभोक्ताले १ सय १५ रुपैयाँ तिरेका छन् । नेपाली गोलभेंडाको मूल्य ३० प्रतिशतसम्म बढेको छ । पोहोर ६५ रुपैयाँ किलो रहेको यसको मूल्य यसपालि ८५ रुपैयाँ पुगेको छ । राजमाको भाउ २८ प्रतिशतले बढेर १ सय ५ रुपैयाँबाट १ सय ३५ रुपैयाँ कायम भएको छ ।भिण्डी र चिचिण्डोको मूल्य समान ६६ प्रतिशतले बढेको छ । पोहोर असार २० गते भिण्डी र चिचिण्डोको बजार मूल्य ३० रुपैयाँ किलो रहेकोमा अहिले ५० रुपैयाँ कायम भएको छ । आँपलगायत केही मौसमी फलफूलको मूल्य पनि बढेको देखिएको छ ।

पोहोर असार २० गते मालदह आँप ९० रुपैयाँ किलोमा किन्न पाइन्थ्यो । अहिले यसको मूल्य १ सय ३० रुपैयाँ किलो पुगेको छ । ९५ रुपैयाँ किलोको दशहरी आँपको मूल्य यो वर्ष १ सय ४० रुपैयाँ कायम भएको पाइएको छ । २ सय ९० रुपैयाँ किलो पर्ने अनारको मूल्य ३ सय ७५ रुपैयाँ पुगेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष गीताप्रसाद आचार्यले यतिबेला एकथरी तरकारीको सिजन सकिएर अर्कोको बीउ रोप्ने समय भएकाले केही हदसम्म मूल्य बढेको बताए ।

‘यतिबेला सबै किसान धान रोप्न व्यस्त छन् । वैशाखतिर लगाएको तरकारीको सिजन सकियो, धान रोप्नमा व्यस्त किसानले नयाँ तरकारी फलाउन पाएका छैनन् । त्यसको असर बजार मूल्यमा देखिएको हो,’ उनले आर्थिक अभियानसँग भने ।

यसबाहेक बजारभाउ बढ्नुमा केही हदसम्म इन्धनको मूल्य वृद्धिले पनि भूमिका खेलेको बताइन्छ । कालीमाटीमा तरकारी ढुवानी गर्दै आएका रामराज बस्नेतले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दा ढुवानी भाडा बढेर बजार मूल्य उकालो लागेको बताए ।

  • २१ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech