२३ जेष्ठ २०८२, बिहीबार

बाँकेका किसानले रोपाइँ गर्न नपाउँदा धानको बीउ छिप्पियो
  • न्युज मानसराेवर

बाँके\ पर्याप्त वर्षा नहुँदा बाँकेमा धान रोपाइँ न्यून भएको छ । रोपाइँ गर्न ढिलाइ हुँदा खेतको बीउ पनि छिप्पिँदै गएको किसानहरूको गुनासो छ । किसानहरूले समयमै वर्षा हुने आसामा एक महिनाअघि नै बीउ राखेका थिए ।

पानीको अभावपछि खल्डाखुल्डीमा रहेको पानी किसानहरूले पम्पसेटबाट तानेर सिँचाइ गरी रोपाइँ प्रयास गरिरहेका छन् । रोपिएको रोपो पनि पानी अभावमा पहेँलिएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार वर्षा नभएका कारण जिल्लामा करिब ३० प्रतिशत मात्रै रोपाइँ भएको छ । जवकि गत वर्ष यसै समयमा रोपाइँ सकिएको थियो ।

जिल्लामा करिब ३० प्रतिशत खेतियोग्य जग्गामा सिँचाइ हुने गरेको छ । जसकारण यहाँको खेती अकासे पानीमा निर्भर रहेको बताइन्छ । समयमै रोपाइँ हुन नसके उत्पादन घट्नसक्ने कृषि अधिकारीहरू बताउँछन् । ‘करिब एक महिनाभित्रैको बीउले उत्पादन राम्रो दिन्छ । तर छिप्पिएको बीउ रोप्दा गाँज लाग्दैन,’ कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकाल भन्छन्, ‘हामीले छिप्पिएको बीउ किसानहरूलाई अलि बाक्लो गरी रोप्न सुझाव दिइरहेका छौं ।’

धान उत्पादन बढाउन १५ प्रतिशत उन्नत बीउ र ५० प्रतिशत रासायनिक मलले काम गर्छ । बुढो ब्याडलाई घना रुपमा रोपाइँ गर्न कृषि अधिकारीहरूको सुझाव छ । छिटो तयार हुने धानको बीउ राखेको २५ दिनसम्म रोपाइँ गरे उत्पादन बढ्ने विज्ञहरू बताउँछन् ।

पानी अभावका बावजुद बाँकेको उत्तरपूर्वी क्षेत्र राप्ती सोनारी क्षेत्रमा बढी रोपाइँ भएको छ । तर पश्चिमका खजुरा, बैजनाथ, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरका किसानले निकै कम धान रोपाइँ गरेका छन् । ती क्षेत्रहरूमा सिँचाइको कुनै सुविधा छैन । नेपालगन्ज, खजुरा र जानकी क्षेत्रमा अझै पनि खेत बाँझै देखिन्छन् ।

केही किसानहरुले ट्युबेलबाटै सिँचाइ गर्ने प्रयास गरिरहेका छन् । तर त्यसरी सिँचाइ गर्दा निकै महंगो पर्ने गरेको छ । बाँकेमा कुल खेतीयोग्य जमिनको १५ हजार हेक्टर क्षेत्रफल (३० प्रतिशत) क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ ।

तर पनि सिँचाइको राम्रो सुविधा छैन । जिल्लामा ५२ हजार २ सय ३८ हेक्टर खेतीयोग्य जग्गा छ । आकाशे वर्षाले साथ दिएको वर्ष बाँकेमा करिब १ लाख ३८ हजार ७ सय टन धान उत्पादन हुने गरेको छ । सिँचाइ सुविधा नभएको स्थानमा किसानहरूले साना ट्युबेल जडान गरेका छन् । तर रोपाइँका लागि त्यसबाट प्रयाप्त सिँचाइ गर्न मिल्दैन । इकान्तिपुर

  • २६ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech