२९ असार २०८२, आईतवार

बुटवल मुख्य सडकको काम अलपत्र परेपछि मेयरले जनाए असन्तुष्टि
  • न्युज मानसराेवर

बाँके\ बुटवलको मुख्य सडकखण्ड निर्माणको काम फेरि अलपत्र परेपछि बुटवल उपमहानगरपालिकाका प्रमुखले असन्तुष्टि व्यक्त गरेका छन् । साढे ३ किलोमिटर सडक निर्माणमा ६ वर्षभन्दा बढी समय खर्चिने निर्माण कम्पनी, ताकेता नगर्ने डिभिजन सडक कार्यालय बुटवल र सडक विस्तार आयोजनाको भूमिकाप्रति बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले असन्तुष्टि व्यक्त गरेका हुन् ।

बुटवल उपमहानगरपालिकाले पटक–पटक दबाब सिर्जना गर्दै अनुगमन गरेपछि केही दिन सडक निर्माणको काम भए पनि डिभिजन सडक कार्यालय र सडक विस्तार आयोजनाले चासो नदिँदा निर्माण कम्पनीले विभिन्न बहानामा काम रोकेको छ ।

काम रोकिएपछि उपमहानगरपालिका प्रमुख पाण्डेले वर्षायामअघि नै काम पूरा गर्नुपर्नेमा विभिन्न बहानामा काम रोक्ने र काम रोक्नेलाई ताकेता नगर्ने डिभिजन सडक कार्यालय र विस्तार आयोजनाको भूमिकाले बुटवल क्षेत्रको मुुख्य सडकको दुर्दशा बनाएको
बताए ।

‘यो सडक निर्माणको काममा भएको ढिलासुस्ती र लापरबाही देखेर म निर्वाचित भएर आउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी, डिभिजन सडक कार्यालय, विस्तार आयोजना, निर्माण कम्पनी, उद्योगी व्यवसायी र सरोकारवालासहितलाई राखेर असारभित्रकाम पूरा गर्ने गरी सहमति जुटाएका थियौं,’ उनले असन्तुष्टि व्यक्त गर्दै भने, ‘केही दिन काम भयो, अनि उस्तै शैलीमा फर्कियो, यसको ठेक्का लगाउने, नियमन गर्ने सडक र विस्तार आयोजनाले चासो दिनुपर्ने हो कि होइन, त्यहाँका कर्मचारीले जे जिम्मेवारी लिएर बसेका छन्, त्यो जिम्मेवारी पूरा गर्नुपर्ने होइन र, बुटवललाई यो दुर्दशा बनाएर राख्न पाइन्छ ?’

बुटवल उपमहानगरपालिकाको पहलमा भएको सहमतिअनुसार केही दिन सडकका खाल्डा पुर्ने र पक्की गर्ने काम शुरु भए पनि काम पूरा हुन सकेको छैन । भत्काएको सडक क्षेत्र र अलपत्र नालीका कारण वर्षा लागेपछि सडक हिलाम्मे छ ।

ठूला–ठूला खाडलका कारण दैनिक साना सवारी दुर्घटना भइरहेका छन् । निर्माण कम्पनीले काम रोकेपछि बुटवलको अस्पताल लाइन, ट्राफिक चोक, मिलनचोक, राजमार्ग चौराहाजस्ता स्थानमा रहेका खाल्डाका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ ।

बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौता भएको थियो । दुई वर्षअघि नै सकिनुपर्ने काम पूरा नभएपछि २०७९ असार मसान्तसम्मका लागि म्याद थप भएको थियो ।

  • ३१ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech