७ मंसिर २०८१, शुक्रबार

पर्यटनको ६ महीना : संख्या र आम्दानी दुवै बढ्यो
  • न्युज मानसराेवर

नेपाल पर्यटन बोर्ड (एनटीबी) का अनुसार नेपालको पर्यटनमा सन् २०२२ को ६ महीनामा जसरी विदेशी पर्यटकको आगमन संख्या बढेको छ, पर्यटनबाट भएको आम्दानीमा पनि राम्रैसँग बढेको छ । सन् २०२२ को ६ महीनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या २ लाख ३७ हजारभन्दा केही बढी रहेको छ भने उक्त अवधिमा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट २५ अर्ब ५२ करोड नेपाली रुपैयाँ आम्दानी भएको छ । यो तथ्यांक विसं २०७९ जेठ मसान्तसम्मको मात्रै हो । गएको आर्थिक वर्षको सोही अवधिमा पर्यटनबाट ६ अर्ब ६९ करोड नेपाली रुपैयाँ मात्रै आम्दानी भएको थियो ।

सन् २०१९ को डिसेम्बर अन्तिमताका उत्तरी छिमेकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन शुरू भएको नोभेल कोरोनाभाइरस (पछि कोभिड–१९ नाम दिइएको) संक्रामक भाइरसको महामारीले हालसम्म पनि विश्वलाई पूर्ण रूपमा विश्राम नदिएकाले पर्यटन क्षेत्रले तंग्रिन पाएको छैन । फलतः नेपालको पर्यटन उद्योग मात्रै नभएर विश्वकै पर्यटन उद्योगले अपेक्षित रूपमा गति लिन सकेको छैन । हाल ‘बीए–५’ आक्रामक ढंगले फैलिरहेको छ । तापनि यो बीचको ६ महीनामा नेपालमा मात्रै नभएर विश्वभरि नै पर्यटन क्षेत्रमा धेरै नै सुधार आएको देखिन्छ । बाँकी समय के हुने हो अहिले नै ठोकेर यसै हुन्छ भनेर भन्न सकिँदैन ।

नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको तथ्यांक हेर्दा सन् २०२२ को ६ महीना अवधिको तुलना गर्दा २०२१ मा वर्षभरिमा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या नजिक पुगिसकेको छ । अर्थात् सन् २०२१ मा १ लाख ५१ हजार चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यो वर्ष अर्थात् सन् २०२२ को ६ महीनामा २ लाख ३७ हजार चानचुन विदेशी पर्यटक नेपाल भ्रमणमा आइसकेका छन् । यही गतिमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेमा लगभग ७ महीनामै सन् २०२१ को पूरा अवधिमा आएका विदेशी पर्यटकको संख्या पुग्ने सम्भावना देखिन्छ । कोरोना महामारीको असर नगन्य मात्रै रहेमा सन् २०२२ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या कम्तीमा ३ लाख १० हजारदेखि ३ लाख २५ हजार/३ लाख ३० हजारसम्म पुग्ने अनुमान गर्न सकिन्छ । यो अनुमान सही हुन सक्ने सम्भावना किन पनि छ भने हालसम्म (२ महीनामा) १ सय १६ देखि १ सय १८ प्रतिशतले नेपाल भ्रमण गर्न आएका पर्यटकको संख्या बढी रहेको अवस्था रहेकाले पनि हो ।

हामीले नेपालको पर्यटन इतिहासलाई हेर्ने हो भने नेपाल सरकारले नेपाल भ्रमण गर्न विदेशी पर्यटकको आधिकारिक रूपमा तथ्यांक राख्न थालेको सन् १९६३ देखि हो । लगभग ४३ वर्षपछि अर्थात् सन् २०२० मा धेरै कम संख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१९ सम्म आइपुग्दा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ९७ हजार (लगभग १२ लाख) पुगेको थियो । सोही आधारलाई हृदयंगम गर्दै नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने तयारी गरेको थियो । तर, कोरोना महामारीका कारण सबै तयारी पूरा गरी केही कार्यक्रमहरू लागू गरिसकेको अवस्थामा पनि रातारात स्थगित गर्नुपर्‍यो । त्यस्तै त्यस बेला विश्वको पर्यटन र पर्यटन उद्योगका सम्बन्धमा विज्ञता प्राप्त विज्ञ महानुभावहरूले नै विश्व पर्यटनमा सुधार आउन कम्तीमा सन् २०२४/२५ सम्म लाग्ने अनुमान गरेका थिए ।

अरू देशका पर्यटकका बारेमा यसै भन्न नसकिए तापनि चिनियाँ पर्यटक साह्रै ‘मक्खिचुस’ भने होइनन् । किनभने विगत केही वर्षदेखि संयुक्त राष्ट्रसंघ सम्बद्ध संस्था यूएन–डब्ल्यूटीओलगायत विश्व पर्यटन सम्बद्ध संघसंस्थाले विभिन्न अध्ययन अनुसन्धान गरेर निकालेको तथ्यांकमा चिनियाँ पर्यटक लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिएका थिए । साथै चिनियाँ पर्यटक संख्याको आधारमा पनि धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पहिलो स्थान ओगट्ने पर्यटकका रूपमा दरिएका छन् ।

चिनियाँ पर्यटकलाई विश्व भ्रमण गर्ने पर्यटकका धेरै संख्या र धेरै खर्च गर्नेमा अन्य कुनै देशका पर्यटकले उछिन्न वा चुनौती दिन सक्ने छैनन् । तर, त्यसका लागि सन् २०१९ को डिसेम्बर अन्तिमदेखि विश्वव्यापी रूपमा फैलन शुरू भएको कोभिड–१९ को महामारीबाट विश्वको अर्थतन्त्र तंग्रिनैपर्ने हुन्छ । नेपालले चिनियाँ पर्यटकलाई तान्ने गरी कार्यक्रम बनाउन आवश्यक छ किनभने उनीहरूका लागि नेपाल पनि आकर्षक गन्तव्य हो ।

नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको तथ्यांक हेर्ने हो भने सन् १९६३ मा सात हजार २७५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक पाइन्छ । त्यस्तै सन् १९६४ मा ९ हजार ५२६, सन् १९६५ मा ९ हजार ३८८ (अघिल्लो वर्षको तुलनामा माइनस १ दशमलव ४ प्रतिशत कम), सन् १९६६ मा १२ हजार ५६७, सन् १९६७ मा १८ हजार ९३ जना, सन् १९६८ मा २४ हजार २०९ जना, सन् १९६९ मा ३४ हजार ९०१ जना, सन् १९७० मा ४५ हजार ९७० जना, सन् १९७१ म ४९ हजार ९१४ जना, सन् १९७२ मा ५२ हजार ९३० जना, सन् १९७३ मा ६८ हजार ४७ जना, सन् १९७४ मा ८९ हजार ८३८ जना, सन् १९७५ मा ९२ हजार ४४० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको माथि उल्लिखित किताबको तथ्यांकमा उल्लेख भएको देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

  • ३ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech