२७ आश्विन २०८१, आईतवार

बार्षिक १० करोड बढीको तरकारी व्यापारको हब बन्दै हर्रे
  • न्युज मानसराेवर

बाँके\ सूर्खेत भेरीगंगा नगरपालिकाको एउटा गाउँले मात्रै बर्सेनि १० करोडभन्दा बढीको तरकारी निर्यात गर्दै आएको छ । कोहलपुर सुर्खेत सडक खण्डमा पर्ने उक्त गाउँमा तरकारी खेती नगर्ने मानिस नै पाइँदैन ।

भेरीगंगा नपा- ४ का सातवटा टोल रहेको हर्रे गाउँमा कृषि विकास निर्देशनालयले तरकारी बाली पकेट क्षेत्र घोषणा गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । यसअघि यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागू भएको थियो ।

हर्रे तरकारी ब्लक समन्वय समिति गठन गरेर निर्देशनालयले यहाँ तरकारी खेतीका विभिन्न प्रयासहरु गरिरहेको छ । गत आर्थिक वर्षमा निर्देशनालयबाट १२ लाख रकम पाउने समितिले सम्झौता गरेको थियो । सात वटा टोलमा यो वर्ष मिनिट्रेलर, सात वटा स्प्रे ट्यांकी, सात वटा प्लाष्टिक घर र दुई लाख रुपैयाँ बढीको बीउ वितरण गरिएको छ ।

२०० घरधुरी रहेको हर्रे गाउँमा १८२ घर त समूहमै आवद्ध छन् । यहाँ टमाटर, अदुवा तथा बेसार खेती हुँदै आएको छ । काँक्रा, सिमी जस्ता तरकारी र विभिन्न जातका फलफूलहरु उत्पादन हुँदै आएको छ । हिउँद याममा सिंचाइ नहुने यस गाउँका किसानहरुले वर्षेखेतीबाटै मनग्गे आम्दानी गर्दै आएका छन् ।स्थानीय किसान दलबहादुर खड्काले चार रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । उनले एक सिजनमा साढे तीन लाखभन्दा बढी रुपैयाँ बचत गर्दै आएको सुनाए ।

‘मैले टमाटरका मात्रै तीन हजार विरुवा लगाएको छु’, उनले भने, ‘सिमी, काँक्रा फल्न थालिसकेका छन् ।’ हिउँदमा पानी नहुने भएकाले खेती गर्न समस्या भएको उनले गुनासो गरे । ‘२०६२ सालदेखि तरकारी खेती गर्दै आइरहेको छु’, खड्काले भने, ‘गत वर्षमात्रै मैले साढे तीन लाखभन्दा बढी आम्दानी गरेको थिएँ ।’खड्का प्रतिनिधि पात्रमात्र हुन् । यहाँका हरेक किसानले कम्तिमा एक देखि दश लाखसम्मको कारोबार गर्दै आएका छन् ।

‘यहाँबाट १० करोडभन्दा बढीको तरकारी निर्यात हुन्छ । यहाँको तरकारी सुर्खेत तथा नेपालगञ्जसम्म जाने गरेको छ’, अर्का किसान नैनसिंह खड्का भन्छन्, ‘गाडीमा यात्रा गर्ने यात्रुले लैजाने तरकारीको मूल्य यसमा समावेश छैन ।’ उनले हर्रेमा दश वर्षदेखि व्यवसायिक तरकारी खेती तथा संकलन गरी बिक्री वितरण गर्दै आएका छन् । खड्का थप्छन्, ‘तीस जना किसानको तरकारी मैले नै संकलन गरेर बिक्री गर्दै आएको छु । वार्षिक ६० लाख जतिको कारोबार गर्छु ।’

यहाँ तरकारी संकलन केन्द्र भने छैन । यहाँका दुई दर्जन जति तरकारी पसलेले नै तरकारी संकलन गर्छन् । किसानहरुले ती पसलेकहाँ नै तरकारी ल्याएर छोड्ने र पैसा लिने गर्छन् ।

होलसेल व्यापारी टीकाराम बुढामगर आफूले ८० जना किसानको तरकारी खरिदबिक्री गर्ने गरेको बताउँछन् । आफूले संकलन गरेको तरकारी तथा फलफूल विभिन्न बजारमा पठाउने गरेको उनी बताउँछन् । ‘मैले एक सिजनमा पचास लाखभन्दा बढी कारोबार गर्छु’, खड्काले भने, ‘यहाँबाट दश करोडभन्दा बढीको तरकारी निर्यात हुन्छ । तर, हिसाब भने ठ्याक्कै भन्न सकिन्न ।’

यहाँका किसानले तरकारी खेतीमात्रै होइन कुखुरा तथा बाख्रापालनसमेत गर्दै आएका छन् । पशुपक्षीको व्यापारबाट कति आम्दानी हुन्छ हिसाबै छैन । तरकारी बजारका संयोजक हेमन्तप्रकाश ओलीका अनुसार मसिना, हर्रे, सानो हर्रेलगायतका सात टोलका किसानले तरकारी खेती गर्दै आएका छन् । उनले तरकारी खेतीमा किसानहरुको लगानी पनि बढ्दै गएको बताए ।

यता कृषि विकास निर्देशनालयका अधिकृत दशरथ पाण्डेले यस गाउँका अधिकांश किसानले तरकारी खेतीबाट मनग्गे आम्दानी गर्दै आएको बताए । ‘हामीले तरकारी ब्लकको रुपमा यो गाउँलाई आर्थिक सहयोग गर्दै आइरहेका छौं । यहाँ प्राविधिकसमेत राख्न आवश्यक बजेट दिएका छौं’, उनले भने, ‘यहाँ एकजना जेटीए नियुक्त भएका छन् । उनले सामान्य रोगको उपचार गर्ने काम गर्दै आएका छन् ।’

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले यहाँ तरकारी संकलन केन्द्र बनाउन अत्यावश्यक रहेको बताए । त्यसका लागि समूहसँग सहकार्य गर्न परामर्श गरिने उनले जानकारी दिए ।

  • ७ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech