सुर्खेत\ प्रतिनिधि सभाबाट शुक्रवार पारित भएको नागरिकता विधेयकको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदर्शन गर्ने भएको छ । नागरिकता विधेयक मुलुकको हितमा नभएको निष्कर्ष निकालेको एमालेले विरोधमा प्रदर्शन गर्ने तयारी गरेको हो ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार यही साउन १६ गते एमालेले विरोध प्रदर्शनको तयारी गरिरहेको छ । उनले सत्ता र गठबन्धन टिकाउनका लागि सत्तारुढ दलहरूले नागरिकता विधेयक संसदबाट पारित गराएको आरोप लगाउँदै त्यसको विरोधमा देशव्यापी जागरण अभियान सञ्चालन गरिने पनि जानकारी दिए ।
सुर्खेतको वीरेन्द्रनगरमा आइतवार प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो ।’
विगतमा नागरिकता विधेयक रोक्ने काम माओवादी केन्द्रकै तर्फबाट भएको र प्रचण्ड भारतबाट फर्किए लगत्तै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित गरिनुले शंका पैदा गरेको पोखरेलले बताए ।भारतमा नेपाली चेलीहरूले प्राप्त गर्नेभन्दा बढी सुविधा विधेयकमा राखिएको उनको भनाइ छ । ‘नेपाली चेलीहरूले जुन अधिकार भारतबाट प्राप्त गरेका छन्, त्योभन्दा बढी सुविधा दिने कुरा उचित हैन,’ महासचिव पोखरेलले भने, ‘नागरिकता विधेयकविरुद्ध यही साउन १६ गते हामीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ ।’