बाँके\ पशु बिमा कार्यक्रमबाट साना किसान लाभान्वित हुनसकेका छैनन्। देशभर साना किसानको संख्या झन्डै ८० लाख रहेको अनुमान छ। बिमा गर्न मध्यम तथा ठूला किसानको भने बढ्दो आर्कषण छ। उनीहरूले फर्म दर्ता नगरिकन व्यवसाय सुरु गरेका छैनन्। वित्तीय संस्थाले दर्ता नगरेका ऋणीलाई धितो लिएर सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने गरेको छैन। गत आर्थिक वर्षमा सहुलियतपूर्ण कर्जा लिनेको संख्या ६० हजार ६१८ छ।
उनीहरूले एक खर्ब ३९६ अर्ब ८४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्राप्त गरेका छन्। फर्म दर्ता गरेर पशुपालन गर्ने साना किसानको संख्या न्यून छ। उनीहरूलाई फर्म दर्ता गर्ने, दर्तापछि धितो राखेर सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सकिन्छ भन्ने जानकारी कम छ। वित्तीय संस्थाले स्वीकार गर्ने, आवश्यक धितो नहुनाले साना किसान सरकारी तथा बिमा सुविधा प्राप्त गर्नबाट वञ्चित छन्।
नेपालमा पशु बिमा कार्यक्रम आर्थिक वर्ष ०७१/७२ बाट सुरु भएको हो। सरकारी सेवा सुविधा प्राप्त गर्नबाट साना किसान वञ्चित भएका कारण पशुजन्य उत्पादनको आयात चुलिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार माछा, मासु र दूध तथा दुग्धजन्य पदार्थको आयात वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढी छ। पहिलो वर्ष गाई, भैंसी, चौरी, भेंडा, च्यांग्रा, बाख्रा, सुंगुर, बंगुर, गधा तथा विभिन्न पक्षीपालन गर्ने किसानले ६१ करोड एक लाख रुपैयाँको बिमा गरेका थिए। ती किसानलाई सरकारले एक करोड ६५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो।