बाँके\ दुई दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा भइरहेको खरानी आयातप्रति चिन्तित हुँदै हरियो वन प्रशस्त हुँदाहुँदै यो चिज आयात भइरहेकोमा दुखेसो पोखे । तर, नेपालमा अहिले आयात भइरहेको खरानी सभामुख सापकोटाले भनेजस्तो दाउरा बालेर निस्केको चिज होइन ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा भारतबाट चार प्रकारका खरानी आयात हुँदा दाउरा बालेर निस्केको खरानी आयात भएको छैन । गतवर्ष नेपालमा तामायुक्त अवशेष, अन्य धातुयुक्त अवशेष, शहरी फोहोर समुद्री झारको खरानी आयात भएको हो । ती खरानी आयात हुँदा २ अर्ब ३७ करोड रुपैयाँ बाहिरिएको छ ।
यसरी आयात भएको खरानी औद्योगिक कच्चा पदार्थ हो । उक्त खरानी तामाका वस्तु, धातुजन्य उत्पादन, सिमेन्ट र अन्य औद्योगिक कच्चा पदार्थको रूपमा उपयोग हुने गरेको छ । अहिले आयात भइरहेका खरानीमध्ये एचएसकोड २६२११००० अर्थात् शहरी फोहोरको खरानी मात्र नेपालमै उत्पादन गर्न सकिन्छ ।