भारत\भारतले शनिवारदेखि आटा, मैदा, सुजी र होलमिल आटाको निर्यातमा रोक लगाएको छ । गहुँको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले शनिबारदेखि लागू हुने गरी यी वस्तुको निर्यातमा बन्देज लगाएको हो । यद्यपि, निश्चित अवस्थामा भने भारत सरकारको अनुमतिमा निर्यात गर्न दिइने यस निर्णयबारे संघीय मन्त्रीपरिषद्लाई सूचित गर्दै विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले भनेको छ । गहुँको पिठो जस्तै मेसलिन आटा, मैदा, सुजी, होलमिल आटा र रिसल्टेन्ट आटाकोे निर्यात नीति स्वतन्त्रबाट संसोधन गरेर प्रतिबन्धितमा राखिएको छ ।
सूजीमा रवा र सिर्गीलाई पनि समावेश गरिएको बताइएको छ । विदेश व्यापार नीति २०१५–२०२० अन्तर्गतको प्रावधान यो सूचनामा लागू नहुने पनि बताइएको छ । अगष्ट २५ मा भारत सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न गहुँ र मेसलिन पिठोको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । यो निर्णय आर्थिक मामिलासम्बन्धी मन्त्रीपरिषद्को समिति (सीसीईए) को बैठकमा गरिएको हो ।
गहुँ वा मेसलिन पिठोको लागि निर्यात छूटमा संसोधन गर्ने प्रस्तावलाई सीसीईएले पारित गरेको एक आधिकारिक विज्ञप्तिमा भनिएको
छ । रुस र युक्रेन विश्वका दुई प्रमुख गहुँ निर्यातकर्ता देशहरु हुन् । विश्वको एक चौथाई गहुँ व्यापारमा यी दुई देशको पोल्टामा छ । तर रुसले युक्रेनमाथि आक्रमण गरेयता विश्वभमा गहुँको आपूर्ति शृङ्खला बिग्रिएको छ ।
यस्तो अवस्थामा भारतीय गहुँको माग बढेको छ । फलतः भारतीय बजारमा गहुँको मूल्य बढेको छ । देशमा खाद्य सुरक्षा सुनिश्चित गर्न सरकारले मेमा नै गहुँको निर्यातमा बन्देज लगाएको थियो । तर यसका कारण सीमापार गहुँको पिठोको भाउ बढ्यो । गत वर्षको सोही अवधिको तुलनामा सन् २०२२ को अप्रिल–जुलाई अवधिमा भारतबाट गहुँको निर्यात २०० प्रतिशतले बढेको छ ।
विदेशमा गहुँको मागका भएको उच्च वृद्धिका कारण घरेलु बजारमा कमोडिटी महँगिएका छन् । यसअघि भने गहुँको पिठोको निर्यातमा रोक लगाउने कुनै नीति थिएन । घरेलु स्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्न र आकाशिएको भाउ नियन्त्रण गर्न गहुँ निर्यातको बन्देज/प्रतिबन्धमा दिंदै आएको छूट नीतिमा आंशिक संशोधन गर्नु परेको विज्ञप्तिमा भनिएको छ । एजेन्सी