काठमाडौँ \नेपाल विद्युत् प्राधिकरणले ९२.५१ प्रतिशत नागरिक विद्युत्को पहुँचमा पुगेको जनाएको छ। मुलुकभरका वडाको अध्ययन गरी तयार पारिएको विद्युतीकरण तथ्यांकअनुसार ९२.३७ प्रतिशत नागरिकले राष्ट्रिय प्रसारण लाइनको र ०.१४ प्रतिशतले स्थानीय उत्पादनको विद्युत् उपभोग गरिरहेका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा बढी मधेश प्रदेशमा ९९.९५ र कम कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ। प्रदेश–१ मा ९१.२३ प्रतिशत, बागमती प्रदेशमा ९७.४७, गण्डकीमा ९७.७६ प्रतिशत, लुम्बिनीमा ९६.७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणको तथ्यांक छ।
७५३ मध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ। २४२ स्थानीय तहमा आंशिक विद्युत् पुगेको छ। ३५ स्थानीय तह भने पूर्णतः विद्युत्को पहुँचभन्दा बाहिर छन्।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत् पुर्याउन योजनाबद्ध रुपमा काम गरिरहेको बताए।
‘आर्थिक वर्ष २०७२/७३ मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो, अहिले यो अवस्था पूरै फेरिएको छ’ उनले भने ‘भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णाली प्रदेशका जिल्लामा विद्युतीकरणमा ढिलाइ भए पनि अबको दुई वर्षभित्र सबैको घरधुरीमा विद्युत् पुर्याउने गरी काम भइरहेको छ।’
उनका अनुसार प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक र युरोपेली लगानी बैंकको करिब २८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरण गरिरहेको छ।