३० असार २०८२, सोमबार

१०० दिनमा बुटवलका मेयर पाण्डेयले के के गरे ?
  • न्युज मानसराेवर

बुटवल \ बुटवल उपमहानगरपालिकाले नयाँ नेतृत्व आएपछिका १०० दिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १०० दिन पूरा गरेको अवसरमा नगरप्रमुख खेलराज पाण्डेयले उपलब्धि सार्वजनिक गरेका
हुन् । उनले यो अवधिमा बुटवल १३ र १७ मा अक्सिजनसहितका २ अस्पताल, बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्न जग्गा प्राप्तिको लागि प्रक्रिया अघि बढाएको बताए ।

कृषि बजार केन्द्र स्थापना, आम्दा अस्पतालमा पीसीएल नर्सिङ अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा अध्ययन, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको उनले बताए ।

असार मसान्त लागेपछि योजना सम्पन्न गर्न थाल्ने परिपाटीको अन्त्य गर्न वार्षिक कार्ययोजना स्वीकृत गरी जेठ मसान्त भित्रै कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको भन्दै उनले भने, ‘चालू आर्थिक वर्षका लागि सम्पत्ति कर र घरबहाल करमा १० प्रतिशत, ई–रिक्सा कर, हाटबजार बैठकी करमा १० देखि १८ प्रतिशतसम्म, महिला, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत कर छुट गरिएको छ ।’

राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माण कार्य समयमा सम्पन्न नहुँदा राजमार्गतर्फ पसल राखी व्यवसाय गर्न कठिनाई भोग्नुपरेका व्यवसायीहरुलाई व्यवसाय करमा ५० प्रतिशत छुटको व्यवस्था, ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरुमा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्यांकनमा ७५ प्रतिशत कर छुट, नागरिकता, अपाङ्गता, जेष्ठ नागरिक परिचय पत्रसहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क, अटो भिलेजमा स्नातक तहको अटो इन्जिनियरिङ कलेज स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि प्रारम्भिक बजेटको व्यवस्था गरिएको पाण्डेयले बताए ।

बुटवल उपमहानगरपालिका, नगर विकास कोष र मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग बहु तले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता भई अध्ययन कार्य सुरू भएको, बुटवल उपमहानगरपालिका वडा नं. ७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको ३५ विगाहा जग्गा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति माग गरी प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख पाण्डेयले बताए ।

यस्तै बुटवल–१६ मा कृषिविज्ञान (बी.एस.सी.एजी.) कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको, लामो समयसम्म बसोबास गरेका तर बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न प्रकृया थालिएको,भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा प्रदान गर्न नापजाँचको कार्य थालिएको पाण्डेयले बताए ।

मितव्ययी एवं पारदर्शिताका लागि उपलब्ध हुँदै आएका सुविधाहरुमा केही कटौती गर्ने गरी आर्थिक कार्य सञ्चालन निर्देशिका, २०७८ मा दोस्रो संशोधन गरिएको, नगरभित्रको जग्गालाई कृषि र गैरकृषि क्षेत्र छुट्याउने प्रक्रिया अगाडि बढाइएको, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा प्रदान गर्न नापजाँचको कार्य थालिएको नगर प्रमुख पाण्डेयले बताए । जलस्रोत नीति तर्जुमाका लागि कार्यदल गठन गरिएको, लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा र सेमलार बर्थिङ सेन्टरमा जन्मिएका बुटवलभित्रका नवजात शिशु र आमाको लागि प्रतिपरिवार २५ सय रुपैयाँ पोषण खर्च दिन शुरु गरिएको नगर प्रमुख पाण्डेयले बताए ।

यस्तै एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम अन्तरगत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई पढ्ने उमेरदेखि नै आयमूलक कार्यमा संलग्न गराउनका लागि कमाउ र अध्ययन गर भन्ने अभियानका साथ नवरत्न माध्यमिक विद्यालय बुटवल–१५ छनौट गरी कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

नगरपालिकालाई सबैको साझा बनाउन सहमति र सहकार्यलाई अगाडि बढाइ साझा मञ्चका रुपमा स्थापित गर्न पूर्व नगरप्रमुख, उपप्रमुख, उपबिजेता र सबै दलहरुका लागि साझा कक्ष स्थापना गरिएको, सार्वजनिक जग्गा संरक्षणका लागि प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा सार्वजनिक जग्गा संरक्षण समिति र नगरप्रमुखको संयोजकत्वमा नगरस्तरीय समिति गठन गरिएको सय दिनका उपलब्धिका रुपमा उल्लेख गरिएको छ ।

 

  • १७ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech