१२ मंसिर २०८१, बुधबार

धनधान्यकी देवी महालक्ष्मीको आजदेखि विशेष आराधना गरिँदै
  • न्युज मानसराेवर

बाँके\वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन् ।धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । शनिवारदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ ।यस वर्ष असोज १ गते शनिवारसम्म यो व्रत गरिन्छ । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम
छ ।

प्रत्येक दिन हविष्य भोजन अर्थात् १ छाक फलाहार र दिनमा १ पटक मात्र नून खाएर महालक्ष्मी व्रत गरिन्छ । १६ दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिने गरिन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको वास भई दुःख दारिद्रय नाश भई सुख–शान्ति मिल्ने धार्मिक विश्वास छ ।

साक्षात भगवान् शंकरले यो व्रत विधि भगवती पार्वतीलाई बताएका विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले जानकारी दिए । यसका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुनेछ ।

देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्र समेत रचना गरेका महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ । बिहान, मध्याह्न र साँझ समेत ३ पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख वैभव प्राप्त गर्नुका साथै शत्रु समेत नाश हुने उनले बताए ।

प्रत्येक वर्ष भाद्र शुक्ल सप्तमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कात्तिक कृष्ण आमावास्या गरी ३ पटक विशेषरूपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

  • १८ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech