बाँके\कृषिउपजलाई बजारीकरण, प्रशोधन र भण्डारणका लागि म्याग्दीमा निर्माण भएका पूर्वाधार संरक्षण र उपयोगविहीन बनेका छन् । ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी, फलफूल र खाद्यान्न बालीलाई बजारीकरणमा सघाउने उद्देश्यले निर्माण भएका कृषिउपज, बीउ सङ्कलन केन्द्र र हाटबजारका पूर्वाधार बेवारिसे बनेका हुन् ।
कृषक सङ्गठित हुन नसक्नु, पर्याप्त मात्रामा कृषिउपज उत्पादन नहुनु, बजार र मूल्यको सुनिश्चित हुन नसक्नु तथा सरोकारवालाको बेवास्ताका कारण प्रयोगमा आउन सकेका छैनन् ।तत्कालीन कृषि विकास कार्यालय र लद्यु उद्यम विकास कार्यालयले बनाएका आठ वटा कृषिउपज सङ्कलन, बीउ प्रशोधन र भण्डारण केन्द्र र एक वटा हाटबजारको भवन उपयोगविहीन बनेका हुन् ।
तीन पूर्वाधार निर्माणमा तत्कालीन अवस्थामा रु दुई करोडभन्दा बढी लगानी भएको थियो । निर्माणलगत्तै केही समय प्रयोग भएका कृषि पूर्वाधारको सञ्चालनका र संरक्षणमा सरोकारवालाको ध्यान पुगेको छैन् ।केही ठाउँमा स्थानीय तहले ब्यापारीलाई भाडामा लगाएका छन ।
केही भवनमा सहकारीको कार्यालय सञ्चालन भएको छ । झाडीले घेरिएका अधिकांश भवन निर्माण सामग्री, घाँस राख्ने, छाडा गाईबस्तुको गोठमा परिणत भएका छन् । खबराका कृषक सोवित शर्माले पर्याप्त उत्पादन र कृषक सङ्गठित नहुँदा कृषिउपजको बजारीकरणका लागि निर्माण भएको पूर्वाधार सदुपयोग हुन नसकेको बताए । तत्कालीन लद्युउद्यम विकास कार्यक्रमको सहयोगमा अन्नपूर्ण गाउँपालिकाको खिवाङमा बनाएको कृषिउपज सङ्कलन केन्द्रको भवनमा निर्माण सामग्री भण्डारण गरिएको छ ।
कृषि विकास कार्यालयले अन्नपूर्णको विरौटा र महभिरमा बनाएको भवन प्रयोगविहीन छ । भुरुङ तातोपानीको कृषिउपज बजार सङ्कलन केन्द्रको भवनमा रेष्टुराँ सञ्चालन भएको छ भने ठूलोबगरको खसीबोका सङ्कलन केन्द्र पनि प्रयोग भएको छैन् । मङ्गला गाउँपालिकाको माटेबगरमा हाटबजारका दुई वटा टहरा र कृषिउपज सङ्कलन केन्द्रको दुई वटा भवन छन् । हाटबजारको भवनमा निर्माण सामग्री थुपारिएको छ । कृषिउपज सङ्कलन केन्द्रको एक वटा भवनलाई गाउँपालिकाले भण्डारणमा प्रयोग गरेको छ । अर्को प्रयोग भएको छैन ।