१५ मंसिर २०८१, शनिबार

नागरिकता विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपतिकोमा पठाउने तयारी
  • न्युज मानसराेवर

बाँके\राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरणको
लागि पुनः राष्ट्रपतिकोमा पठाउने तयारी भएको छ । सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर सोमवार नै राष्ट्रपतिकोमा पठाउने तयारी भएको हाे । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विधेयक आजै राष्ट्रपतिकोमा पठाउने तयारी रहेको जानकारी गराएका छन।

प्रतिनिधि सभाबाट भदौ २ गते जस्ताको तस्तै पारित गरिएको नागरिकता विधेयक राष्ट्रिय सभाले पनि जस्ताको तस्तै पारित गरेर प्रतिनिधि सभालाई पठाएको थियो । आइतवारको बैठकमा राष्ट्रिय सभाबाट पारित विधेयकको सन्देश सुनाइएको थियो । ‘सोमवार नै राष्ट्रपतिकोमा पठाउने तयारी छ’ उनले भने ।

१५ बुँदे सन्देशसहित राष्ट्रपति भण्डारीले साउन २९ गते प्रतिनिधि सभामा विधेयक फिर्ता पठाएकी थिइन । संघीय संसदका दुवै सदनले पुनर्विचार आवश्यक नभएको भन्दै पारित गरेका विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपतिका लागि बाध्यकारी छ ।

दोस्रो पटक पुनर्विचारका लागि पठाउने व्यवस्था नरहेकोले प्रमाणीकरण गर्नु या राजीनामा गर्नु राष्ट्रपतिसँग दुई मात्र विकल्प हुनेछ । यसअघि संविधानविदहरूसँगको कुराकानीमा भण्डारीले यो विधेयक प्रमाणीकरण गर्नुभन्दा राजीनामा गर्छु भनेको चर्चा चलेको थियो ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech