२६ आश्विन २०८१, शनिबार

देशभर १० हजार ८८८ मतदान स्थल
  • न्युज मानसराेवर

काठमाडौँ\आगामी निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम हुने भएको छ। मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम निर्वाचन आयोगले मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको संख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदान स्थल पुनरावलोकन गरेको निर्वाचन आयोगले जनाएको छ।

साउन १ गतेदेखि मतदान स्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायातलगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमतिसमेतका मतदान स्थल पुनरावलोकन गरिएको हो।

जिल्लाभरका मतदान स्थल पुनरावलोकन हुँदा १ हजार एक सय २३ मतदान स्थलको त्रुटि सच्याइएको, साविकका ३६५ मतदान स्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३६४ मतदान स्थल निर्धारण गरिएको, १६३ मतदान स्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १६९ मतदान स्थल निर्धारण गरिएको साथै २८ वटा मतदान स्थलका सबै मतदातालाई २८ वटै मतदान स्थलमा र १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको छ।

देशभरका मतदान स्थलको संख्या १० हजार ८८८ पुगेको छ। यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेका थिए। मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको छ।

मतदान स्थल पुनरावलोकन भए पश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिंड्नुपर्ने लगायतको गुनासो समेत सम्बोधन भई मतदातालाई मतदान स्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षो रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech