३१ असार २०८२, मंगलवार

पूर्वाधारले फेरिएको भैरहवा
  • न्युज मानसराेवर

भैरहवा\ केही वर्षअघिसम्म रूपन्देही जिल्ला सदरमुकाम भैरहवामा सरकारी कार्यालय मात्रै थिए। आममानिस सरकारी काम बाहेक यहाँ आउँदैनथे। गर्मी, लामखुट्टे, डुबान, फोहोरलगायतको कारण भैरहवाको चहलपहल निकै कम थियो। सरकारी कर्मचारीसमेत भैरहवा आउन चाहन्नथे। बसाइँसराइको प्रभाव पनि न्यून थियो।

तर अहिले भैरहवाको रूप फेरिएको छ। मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग यसको विशेषता बनेका छन्। भैरहवा–तौलिहवा फराकिलो सडक, नगरको भित्री क्षेत्रमा समेत फराकिलो तथा हरियाली बाटो, तारे होटल, ‘सपिङ मल’, क्रिकेट र‌ंगशालालगायतले भैरहवाको आकर्षण बढाएका छन्।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको छ। करिब ३० अर्बको लागतमा निर्माण भएको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सले साताको तीन उडान गर्दै आएको छ। भदौ ३१ गते देखि दैनिक उडान हुँदैछ।

बीज एयरलाइन्सले पनि भैरहवाबाट उडानको अनुमति पाइसकेको छ। गौतमबुद्ध विमानस्थल अहिले वैदेशिक रोजगारीमा जान चाहनेका लागि पहिलो रोजाइँमा परेको छ।

पूर्वाधारमा छलाङ

भैरहवाको अर्को परिचय हो- गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार। यसले यस क्षेत्रको पर्यटकीय सम्भावनालाई अझै बढावा दिएको छ।

भैरहवालाई आकर्षक बनाउनमा यहाँका होटल व्यवसायको पनि उत्तिकै सहयोग छ। भैरहवा, लुम्बिनी तथा बेलहियामा गरी ८९ वटा स्तरीय होटल छन्।

होटल कसाइ, होक्के, पवन प्यालेस, टाइगर रिसोर्ट, मौर्या होटल, होटल बोधी रेडसन्, बुद्धमाया गार्डेन लगायतकास्तरीय होटलको लामै सूची छ। यस अतिरिक्त अहिले करिब आधादर्जन पाँच तारे होटल निर्माणाधीन अवस्थामा रहेका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले भित्र्याउने पर्यटकलाई लक्षित गरी होटल व्यवसायमा अहिले अर्बौको लगानी भइरहेको छ। पर्यटकलाई लक्षित गरी भैरहवा क्षेत्रमा ६ वटा मिनी क्यासिनोसमेत सञ्चालनमा रहेका छन्।

औद्योगिक क्षेत्र

भैरहवा–लुम्बिनी, भैरहवा–बुटवल तथा भैरहवा–परासी औद्योगिक कोरिडोर गरी यहाँ दर्जनौँ उद्योग रहेका छन्। मुलुककै अर्थतन्त्रमा ठूलो योगदान दिइरहेका पञ्चकन्या समूह, अर्घाखाँची सिमेन्ट, गोयन्का सिमेन्ट, जगदम्बा सिमेन्ट, अम्बे स्टिल, श्री स्टिल, सिद्धार्थ सिमेन्ट, ब्रिज सिमेन्ट लगायतका ठूला उद्योग भैरहवामै छन्।

भैरहवा–परासी करिडोरमा ठूलाठूला उद्योग खुल्ने क्रम जारी छ। स्टिल, छड, प्लास्टिक, जुत्ता–चप्पल, चाउचाउ, खाद्यान्न, दाल, साबुन, मैदा, बियर, छाला, बिस्कुट, कृषिजन्य उद्योग भैरहवामा सञ्चालन भइरहेका छन्।

यस बाहेक मुलककै पहिलो निर्यातमुखी परियोजनाको रुपमा रहेको विशेष आर्थिक क्षेत्र (सेज) पनि भैरहवामा सञ्चालनमा आइसकेको छ। कूल ५२ बिघा क्षेत्रफलमा रहेको सेजमा एक हजार ४०० देखि तीन हजार ७०० वर्गमिटर सम्मका ६८ वटा प्लट रहे पनि हालसम्म सात वटा उद्योग मात्रै सञ्चालनमा छन्।

दोस्रो ठूलो भन्सार नाका

भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्षमा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ राजस्व उठाएको थियो। भैरहवा वीरगञ्जपछि मुलुकको दोस्रो ठूलो नाकामा पर्छ। यहाँ भारततर्फ चार लेन र नेपालतर्फ ६ लेनको सडक बनेको छ। आयातनिर्यातका लागि सहज पहुँच भएको भैरहवा नाका मुलुककै ‘लाइफलाइन’ बनेको छ।

नेपाल र भारत सरकारले भैरहवा र सुनौली नाकामा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण गर्दै छन्। जसको लागि नेपालले ५२ बिघा जग्गा अधिग्रहण गरिसकेको छ।

व्यवस्थित सहरीकरण

भैरहवाले पछिल्लो समय व्यवस्थित सहरीकरणको परिचयसमेत थपेको छ। भैरहवा–बुटवल ६ लेनको व्यापारिक मार्ग, यसमा रहेका अपांगतामैत्री आकाशे पुल, भैरहवा–तौलिहवा चार लेनको बाटोले नगरलाई भव्य बनाउन सहयोग गरेका छन्। भैरहवाका भित्री बाटोसमेत फराकिलो बनेका छन्। बाटोको छेउमा रहेको ‘ग्रिनरी’ले यसलाई थप सुन्दर बनाएको छ।

हेल्थ टुरिज्म

पर्यटकीय, औद्योगिक र व्यवस्थित सहरीकरण रहेको भैरहवा मेडिकल तथा बैंकिङ हब पनि हो। भैरहवामा रहेको रण अम्बिका शाह आँखा अस्पतालमा आउने आँखाका बिरामीमा ९० प्रतिशत भारतीय रहेका छन्। यसबाहेक यो अस्पतालले तेस्रो मुलुककासमेत बिरामीलाई सेवा प्रदान गरिरहेको छ।

उत्कृष्ट सेवाका कारण ‘हेल्थ टुरिज्म’ समेत फस्टाउँदै गएको छ। यस्तै भैरहवामै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि ख्याति कमाएको छ। सिद्धार्थनगर सिटी अस्पताल, क्रिमसन अस्पताल पनि यहीँ क्षेत्रमा छन्। (रासस)

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech