बाँके\स्थानीय तहमा निर्वाचित दलित महिलाहरुले नेतृत्व विकास गर्दै सिंगो दलित समुदायको सवाललाई स्थापित गराउन भूमिका खेल्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।जातीय छुवाछूत र लैंगिक हिंसा अन्त्यका लागि निर्वाचीत दलित महिला जनप्रतिनिधिहरुको भूमिका विषयक लुम्बिनी प्रदेशस्तरीय सम्मेलनमा सहभागीहरुले सो कुरा बताएका हुन् ।
दलित महिला संघ (फेडो) ले आयोजना गरेको भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पार्वती पुनले जातीय र लैंगिक आधारमा कसैमाथि विभेद नहुँदामात्रै मुलुकको विकास हुने बताइन् । सभासद पुनले दलित समुदायको उत्थानका लागि दलित महिलाको सशक्तीकरण आवश्यक रहेको बताइन ।
‘तपाईंहरु जनताबाट अनुमोदित भएर आज निर्वाचित हुनुभएको हो । यो एउटा अवसर हो,’उनले सुझाव दिँदै भनिन्, ‘आफ्नो वडाले गर्ने कामहरूबारे जानकारी लिनुस् । जनताका आवश्यकता हेर्नुस् । आफ्नो नेतृत्व विकास गर्नुस् ।’
कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, डुडुवा गाउँपालिकाकी उपमेयर साहिदा बानो, कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरी विश्वकर्मा, दलित अधिकारकर्मी डिलबहादुर परियार, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति, राप्रपाकी इन्दीरा शाही, कांग्रेस बाँकेका सुशीला नेपाली, महिला विकास अधिकृत मन्जु पाण्डेलगायतले धारणा राखेका थिए ।
भेलामा वडामा दलित महिला सदस्यहरूको भूमिका र अधिकारका फेडोका संस्थापक दुर्गा सोब, केन्द्रीय अध्यक्ष कला स्वर्णकारलगायतले प्रशिक्षण दिएका थिए । सम्मेलनमा प्रदेश ५ का विभिन्न जिल्लाका गरी करिब सय जना दलित समुदायबाट निर्वाचित महिला जनप्रतिनिधिहरु सहभागी थिए ।